धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेको र त्यसले देशमा राजनीतिक अस्थिरता कायम रहेको बताएका छन्। धनगढीमा आयोजित नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘संविधानमा समानुपातिक समावेशीको प्रणालीको ब्यवस्था छ। त्यसले कुनै पनि पार्टीको बहुमत आउन सकेको छैन। जस कारण हामीले बहुमत ल्याउन सकेका छैनौं। यही प्रणाली रहिरह्यो भने हामीले भविष्यमा पनि बहुमतको सरकार बनाउन सक्दैनौं,’ उनले भने।
उनले सांकेतिकरूपमा समानुपातिक प्रणाली हटाउनुपर्ने संकेत गरे। उनले यसकै लागि दुई प्रतिस्पर्धी दलहरूले गठबन्धन गरेको पनि बताए। ‘नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी पार्टी एमाले हो। एमालेको पनि हामी मुख्य प्रतिस्पर्धी हौं। तर हामी मिलेर सरकार बनाएका छौं। त्यसका अरु धेरै कारणहरू छन्। मुख्य कारण भनेको देशमा देखिएको राजनीतिक अस्थिरता नै हो,’ देउवाले भने।
उनले अन्तिम १८ महिनाका लागि आफू प्रधानमन्त्री हुने बताए। ‘ओलीजीले अन्तिम १८ महिनाका लागि प्रधानमन्त्री बनाउँछु भनेर सहमति गर्नुभएको छ। तपाईँ सबैको साथ र सहयोगले म प्रधानमन्त्री हुन्छु,’ उनले भने।
देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेको बताए। ‘हाम्रो पार्टीभित्र अलिकता रोग लागेको छ। त्यो भनेको अन्धकार भन्ने रोग हो,’ मुस्कुराउँदै उनले भने। ‘त्यस रोगलाई सदा सदाका लागि निर्मुल पार्नुपर्छ। पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा होला, तर भोट हाल्ने बेला हामी एक हुनुपर्छ। म त्यसको सुरुवात् सुदूरपश्चिमबाटै होस भन्न चाहन्छु,’ उनले भने।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij