२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

विश्वप्रकाशले मिलाए बद्री – बजगाई विवाद

विश्वप्रकाशले मिलाए बद्री – बजगाई विवाद

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पर्यटनमन्त्री बद्री पाण्डे र सांसद राजेन्द्र बजगाईबीचको असमझदारी महामन्त्री विश्वप्रकाश शर्माको अग्रसरतामा समाधान भएको छ ।

पर्यटनमन्त्री पाण्डे र सांसद बजगाईंबीचका विवाद केही दिनयता सामाजिक सञ्जालमा छरपष्ट भएका थिए । सांसद बजगाईले पर्यटनमन्त्रीले काम गर्न नसकेको क्यासिनो लाइसेन्स वितरणमा कमिसन जोडिएको पोष्ट सामाजिक सञ्जालमा उल्लेख गरेपछि विवाद बढेको थियो । मन्त्री पाण्डेले आफूले भ्रष्टाचार नगरेको र आफ्नो मनोबल गिराउने प्रयास भएको बताएका थिए । मन्त्री – सांसद वाकयुद्धले पार्टीलाई नै हानि हुनेपछि महामन्त्री शर्माले अग्रसरता लिएर विवाद समाधान गराएका हुन् ।

सांसद बजगाईविरुद्ध मन्त्री पाण्डेले पार्टी कार्यालय सानेपामा उजुरी नै दिएका थिए । बजगाईले पनि उजुरीअघि र पछि गरेर पटक पटक लिखित जवाफ पार्टी र संसदीय दलको कार्यालयमा बुझाएका थिए । महामन्त्री शर्माले अनुशासन समिति संयोजक आनन्द ढुंगानासमेतलाई राखेर मन्त्री पाण्डे र सांसद बजगाईबीच समझदारी कायम गराएका हुन् । उनीहरुबीच भएको छलफलमा मन्त्री पाण्डे र सांसद बजगाईले मन माझामाझ गरेको बताइन्छ । आफूले लेखेको कुराले मन्त्री पाण्डे र उनको परिवारलाई परेको चोटका लागि सांसद बजगाईले सामाजिक सञ्जालमार्फत क्षमा मागिसकेका छन् । मन्त्री पाण्डेले पनि सांसद बजगाईंविरुद्ध आफ्नो सचिवालयबाट भएको व्यवहारप्रति छलफलकै क्रममा दुःख व्यक्त गरेका थिए ।

महामन्त्री शर्माले दुवै पक्षलाई आवेग र आक्रोशभन्दा संवाद र सहकार्यमा विश्वास गर्न प्रेरित गरे । लामो छलफलका दौरान मन्त्री पाण्डे आफूलाई गलत आरोप लागेको, जिल्ला जानसमेत अप्ठ्यारो परेको र गलत आरोप लगाउनेलाई कानुनी कठघरामै उभ्याउनुपर्ने अडान राखेका थिए । सांसद बजगाईले आफूले बोलेका कुराहरु तथ्य र प्रमाणको आधारमा भएपनि पार्टीहितका दृष्टिले भएको त्रुटि सच्याउन तयार रहेको बताएका थिए ।

कांग्रेस कार्यालय स्रोतका अनुसार लामो छलफलपछि मन्त्री र सांसद दुवैजनाले ‘सेल्फ रियलाइजेसन’ गर्दै विवाद टुंग्याएका थिए । ‘सामाजिक सञ्जालमा लेखेका कारण पुगेको चोटप्रति सांसदले सरी भन्नुभयो । मन्त्रीको सचिवालयबाट भएका व्यवहारप्रति मन्त्रीले रियलाइज गर्नुभयो । कुरा टुंगियो’ , कांग्रेस स्रोतले भन्यो । महामन्त्री शर्माल लामो पृष्ठभूमि, उदाहरण र सन्दर्भहरु केलाउँदै मन्त्री सांसद विवाद समाधान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij