२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह

शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताएका छन्।

शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालिन नेपाली समाजमा सामाजिक सुधारकका रुपमा अतुलनिय योगदान गरेको बताए। साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताए।

‘शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो। यो समय परिवर्तन हुँदै गए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना कहिले परिवर्तन हुँदैन। समाज, दाजुभाइ दिदिबहिनी, समुदायमा कसैलाई दु:ख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनु भएको छ। त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ,’ उपप्रधानमन्त्री सिंहले भने।

यस्तै, उनले साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउँदा खुसी लागेको बताउँदै संस्कृति, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि सिंहले बताए।

साख्वाको योगदानको मूल्यांकन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गरे।

२०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेको नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ। लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गरेको इतिहास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij