२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा

निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा

काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीनवटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुईवटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् ।

एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौँ ल्याएर तत्काल मर्मतकार्य सकेर आइतबार बेलुकीबाट उडानमा ल्याइएको उनले जानकारी दिए ।

‘शनिबार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि आजैबाट उडानमा आएको छ । आज बेलुका दोहाका लागि उडान भरेर भोलि सोमबार विमान जापान उडान भर्ने तालिका रहेको छ’, प्रवक्ता पौडेलले भने ।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप निगमका विमान नियमित मर्मतसम्भार गर्ने गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

‘यसका बाबजुत कहिलेकाहीँ विमानमा आकस्मिक प्राविधिक समस्या आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मतसम्भारपश्चात् नियमित उडान सञ्चालन गर्नु अन्तर्राष्ट्रिय अभ्यास रहिआएको छ । समस्याको प्रकृति र उपलब्ध साधनस्रोतको आधारमा सामान्यतः विमान केही समयभित्र नै मर्मतसम्भार सकेर उडानयोग्य हुन्छ भने कहिलेकाहीँ धेरै समय लाग्नसक्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्राविधिक कारणले तीनवटा विमानका यात्रु दुईवटा विमानबाट ओसारपसार गर्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij