काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापनइतर समूहको बैठक डाकेका छन्। कोइरालाले केन्द्रीय समिति बैठक अघि इतर समूहको बैठक बोलाएका हुन्। केन्द्रीय समिति बैठक असोज ४ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठक आज दिउँसो कोइरालाकै सचिवालयमा २ बजे बस्दैछ।
पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कोइरालाले उक्त महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा उम्मेदवार बनेकाहरूलाई बैठकमा बोलाएका छन्।
यसपटकको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्री पराजित उम्मेदवार प्रदीप पौडेललाई पनि बोलाइएको छ। १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर निर्वाचित भएका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदमा पराजित भए। त्यति बेला पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा थिए। सिटौला समूहले महाधिवेशनमा देउवा समूहलाई सहयोग गरेको थियो।
शर्मा र पौडेल २०७९ पुस ६ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा भने इतर समूहबाट महामन्त्री निर्वाचित गगन थापाको पक्षमा खुलेका थिए। त्यसयता उनीहरू इतर समूहको विभिन्न गतिविधिमा अप्रत्यक्ष सहभागी हुँदै आएका छन्।
केन्द्रीय समितिमा इतर समूह कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न छलफल डाकेको बताइएको छ। कोइराला १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने गरी रणनीति बनाइरहेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij