अमेरिका । न्यूयोर्कको क्विन्स सहरमा सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमले नेपाली फिल्म उद्योगका कलाकार, निर्देशक, र चलचित्रहरूलाई सम्मान गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गर्यो।
यस अवार्ड समारोहमा नेपाल र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली फिल्मको प्रचार–प्रसार गर्ने उद्देश्य रहेको थियो । कार्यक्रमको आयोजना नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, त्रिवेणी इन्टरटेनमेन्ट यूएसए, र दिलकुमारी फाउन्डेसनको सहकार्यमा सम्पन्न भयो।
प्रमुख आयोजकहरूमा नेपाल फिल्म सोसाइटीका अध्यक्ष वरिष्ठ नायक कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठ, त्रिवेणी इन्टरटेनमेन्ट यूएसएका नवराज केसी, र दिलकुमारी फाउन्डेसनका खम एल भट्ट रहेका थिए । कार्यक्रममा नायिका भुवन चन्द र बसुन्धरा भुसाललाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको लागि “दीर्घ साधना सम्मान” प्रदान गरिएको छ।
भुवन चन्द पहिलो नेपाली नायिका हुन् भने बसुन्धरा भुसाललाई हास्य साम्राज्ञीको रूपमा सम्मानित गरिएको छ। दुवैजना नेपाली चलचित्रका पहिलो फिल्म आमा पात्रको रूपमा चिनिन्छन्।
त्यसैगरि नायिका करिश्मा मानन्धरलाई नेपाली फिल्म उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उत्कृष्ट अवार्डबाट सम्मानित गरिएको छ। नायिका केकी अधिकारीले यस वर्षको सर्वश्रेष्ठ कलाकारको रूपमा बर्ष तारा नाममा अवार्ड हात पारेकी छिन्।
सरोज खनाल र करिश्मा मानन्धरले जूरी अवार्ड जितेका छन्, जसले उनीहरूको उत्कृष्ट योगदानलाई कदर गरिएको छ। जूरी पुरस्कार टुल्की र भस्मे डन चलचित्रलाई प्रदान गरियो, जसले फिल्ममा उत्कृष्ट प्रस्तुती गरेको ठहर गरिएको छ।
बगान चलचित्रबाट सरोज खनालले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् भने करिश्मा मानन्धरले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी छन् । त्यसैगरी, भस्मे डनका निर्देशक दीपेन्द्र के. खनाल र उत्कृष्ट अभिनेतामा दयाहाङ राई , उत्कृष्ट अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट चलचित्रबाट आवर्ड जितेका हुन् ।
केदार घिमिरे (माग्ने बुढा) हास्य भूमिकामा आफ्नो उत्कृष्ट अभिनयका लागि सम्मानित भएका छन्। प्रशान्त ताम्राकारले उत्कृष्ट खलनायक (नेगेटिभ रोल)भूमिकामा उत्कृष्ट प्रस्तुति दिएबापत यो अवार्ड जितेका छन्।
उनीहरूको अभिनयले दर्शक तथा समीक्षकहरूको मन जित्न सफल भएको छ।
अन्तर्राष्ट्रिय मोडलको रूपमा आङ्तेम्बा शेर्पालाई सम्मान गरियो। अनु शाह, गायक नन्दकृष्ण जोशी, र अन्तर्राष्ट्रिय वकिल खगेन्द्र जीसीले पनि यस वर्षको अवार्ड प्राप्त गरेका छन्
यस पटकको अवार्डमा गेहेन्द्र धिमाल स्मृति सम्मान महादेव त्रिपाठीले पाएका छन् भने रामकेशर बोगटी स्मृति सम्मान डा. घनश्याम खतिवडालाई प्रदान गरिएको छ।
यस समारोहमा अनिल संग्रौला, सुमन दाहाल, सूर्य चन्द, बिधान कार्की, सञ्जय खतिवडा, शंकर बीसी, मीना निरौला, याम बराल, सन्दिप क्षेत्री, गोविन्द राई, ऋचा घिमिरे, र जयन्ती शेर्पालाई ल्ँक् अभिनन्दन पुरस्कार प्रदान गरियो।
निर्णायक समितिमा रवीन्द्र खड्काले संयोजकको भूमिका निर्वाह गरेका थिए भने सदस्यहरूमा शर्मिला मल्ल, नारायण प्रधान, मोहन के. श्रेष्ठ, र दुर्गा बिसुराल रहेका थिए।
कार्यक्रम मेलरोज बलरुममा सम्पन्न भएको थियो, जसको व्यवस्थापनमा राजेन्द्र के बिसुराल, मदु के श्रेष्ठ, राकेश खड्का, शंकर एल श्रेष्ठ, गोपाल कायस्थ, शिवहरि बैरागी, र रोशन के श्रेष्ठ सहभागी थिए। न्यूयोर्क आयोजक टोलीमा कृष्ण मल्ल, नवराज श्रेष्ठ, नवराज केसी, खम एल भट्ट, र सुनिल पाठक थिए ।
कार्यक्रमका संरक्षक शोभित उप्रेती थिए भने वरिष्ठ सल्लाहकारहरूमा मदनदास श्रेष्ठ, रवीन्द्र खड्का,अशोक शर्मा, कृष्ण पाठक, उज्वल घिमिरे, प्रदीप उदय, र घनश्याम खतिवडा रहेका थिए।
सन् २०१६ बाट सुरु भएको एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस वर्षको अवार्ड समारोहको उद्देश्य अमेरिकामा रहेका नेपाली कलाकार र समुदायबीच सांस्कृतिक आदानप्रदान गर्नु र नेपाली चलचित्रको गुणस्तरलाई विश्वभर पुर्याउनु रहेको थियो।
कार्यक्रमले नेपाली कलाकार, निर्देशक, र फिल्म क्षेत्रका अन्य व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै नेपाल र नेपाली चलचित्रको पहिचानलाई थप सशक्त बनाएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष वरिष्ठ नायक कृष्ण मल्लले जानकारी दिए ।
खेम भट्टका अनुसार त्रिबेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी फाउन्डेसनको प्रतिनिधित्व गर्दै कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएको जानकारी गराए। नवराज केसीले त्रिबेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी फाउन्डेसनको तर्फबाट कार्यक्रमको व्यवस्थापन सम्हालेका थिए भने मेलरोज हल, एअर टिकट, होटल, खानपिन, तथा अन्य सम्पूर्ण लजिस्टिक व्यवस्थापन त्रिबेणी इन्टरटेन्मेन्ट र दिलकुमारी केसी फाउन्डेसनबाट गरिएको थियो, जसमा करिब ६०० जनाको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij