काठमाडौं : सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदैछ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले विहान साढे ९ बजे थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ।
यो खोप १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ। २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्न आग्रह गरेको छ।
अहिले यो खोपको मात्रा सिमित भएकाले यो उमेर समूहका झण्डै ९ हजार जना किशोरीले मात्र खोप पाउने छन्।
खोप वितरणका लागि सात प्रदेशका सात वटा अस्पताल तोकिएका छन् । बागमतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा आजदेखि ३० गतेसम्म खोप लगाइने छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सी २९ गतेसम्म खोप लगाइने छ।
कोशीको कोशी अस्पतालमा भने भोलिदेखि ३० गतेसम्म र मधेसको नारायणी अस्पतालमा पर्सी २९ गतेदेखि ३१ गतेसम्म लगाइने छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij