भनिन्छ बालबालिका भनेका कागजका खाली पाना हुन्। खाली कागजमा जस्तोसुकै चित्र बनाउन सकिएजस्तै अभिभावकले चाह्यो अनुसार बालबालिकामा बानीको विकास गर्न सकिन्छ भन्ने मान्यताले बालबालिकालाई खाली पाना भन्न खोजिएको हो। तर बालबालिकामा आफ्नो चाहनाअनुसारको बानीको विकास गराउन सजिलो काम भने होइन। यसका लागि पर्याप्त ज्ञान मात्र भएर मात्रै पनि पुग्दैन, स्नेह पनि उतिकै चाहिने कुरा बालबालिका हुर्काउने अनुभव भएकाहरूलाई भनिराख्नु पर्दैन।
सूचना प्रविधिको विकासका कारण अहिले गाउँ र नगरका बालबालिकाबीच खास ठूलो अन्तर छैन। नेपालका धेरैजसो स्थानमा मोबाइल र टेलिभिजन चलाउन सकिने सुविधा छ। यसर्थ अधिकांश स्थानका बालबालिकालाई मोबाइल र टीभी हेर्ने कुरा सिकाइरहनु पर्दैन।
कतिपय बालबालिका मोबाइल/टीभी नहेरी खानाको गाँसै हाल्न मान्दैनन्। मोबाइल र टीभीमा बालबालिकाले चाहेको कुरा देखाइदिँदा थाहै नपाई खाना खाइदिने हुनाले अभिभावकहरुले पनि त्यस्तै बानीको विकास गरिदिएका हुन्छन्। बालबालिकालाई खाना खुवाउनै लागि भएपनि मोबाइलको ब्याट्री जोहो गर्ने रुटिन पनि कतिपय अभिभावकले बनाएका हुन्। प्रायजसो अभिभावकले बालबालिकामा त्यस्तो बानी पार्न जानीनजानी प्रोत्साहित पनि गरिरहेका हुन्छन्। तर जब बालबालिका मोबाइल र टीभीमा अभ्यस्त भइसक्छन् त्यसबेला चाहिँ अभिभावकहरू बालबालिकामा विकास भइसकेको बानी हटाउन उद्यत हुन्छन्। तर नयाँ बानीको निर्माण गर्न भन्दा पनि लागेको बानी हटाउन ठूलै मानिसका लागि त गाह्रो कुरा हो भने अबोध बालबालिकाका लागि सहज हुने कुरा भएन।
नेपालको परिप्रेक्ष्यमा १८ वर्षको उमेर पुगेपछि मात्र बालिग बन्ने भएकाले त्यसभन्दा कम उमेर समूहका व्यक्तिलाई बालबालिका भनिन्छ। विश्वका केही देशमा १६ वर्षभन्दा कम उमेर समूहका व्यक्तिलाई मात्र पनि समावेश गरिएको छ। जन्मदेखि बालिग हुन बेलासम्मको अवधिमा बालबालिका तीव्र वृद्धि र विकास त हुन्छ नै। उनीहरूले आफ्नो रेखदेश गर्ने बाबुआमा र अभिभावकहरूलाई पनि उसै गरी परिवर्तन गरिरहेका हुन्छन्। र, यस्तो परिवर्तन जरुरी पनि छ। बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक र संवेगात्मक विकास सँगसँगै अभिभावकले गर्ने व्यवहार पनि परिवर्तन भएको खण्डमा कुशल अभिभावकत्व प्रदान गर्न सहज हुन्छ।
नवजात शिशुलाई गर्ने प्रतिक्रिया र शैशवावस्था कटिसकेका बालबालिकाको प्रतिक्रिया समान हुँदैन। उनीहरूले सिक्ने कुरा पनि समान हुँदैन। शारीरिक बनोट र उनीहरूको शरीरका आवश्यकता पनि समान हुँदैनन्। त्यसैगरी, पूर्वबाल्यावस्था र उत्तरबाल्यावस्थाका बालबालिकका पनि विशिष्टता फरक फरक हुन्छन्। किशोरकिशोरीका शारीर, मन र भावनामा पनि आकाशजमिनको फरक हुन्छ। बालबालिकाका विशिष्टता र फरकपनालाई सम्मान गर्दै उनीहरूको आवश्यकता परिपूर्ति गर्न सहयोग गर्नु असल अभिभावकको दायित्व हो।
अधिकांश अभिभावक सबै बालबालिकाहरूमा समानता खोज्दछन्। र एक बालक/बालिकालिकालाई अर्को बालक/बालिकासँग तुलना गरिरहेका हुन्छन्। विकासको दर समान भएकाहरू त आफैमा फरकफरक प्रतिक्रिया जनाइरहेका हुन्छन् भने एक बालबालिकालाई अर्को बालबालिकासँग तुलना गर्नु बालबालिकाकै लागि पनि न्यायोचित हुँदैन।
बालबालिका विशिष्ट हुने र फरक हुने कुरा सिद्धान्तमा प्रायश: सबै अभिभावकहरूलाई थाहा होला। तर त्यसको सम्मान गर्दै त्यही अनुसारको व्यवहार गर्न पनि जानेबुझेका अभिभावकहरू चुकिरहेका हुन्छन्। बालबालिकामा तीव्र प्रतिस्पर्धा गराएर अघिल्लो श्रेणीमा परेका बालबालिकाभन्दा उनीहरूका अभिभावकको गर्व अर्कै किसिमको हुने कुरा तपाईहामीले भोगिरहेकै छौँ। प्रतिस्पर्धामा अघिल्ला श्रेणीमा आउँदा दु:खी बन्नुपर्छ भन्ने कुरा त होइन तर कुनै कार्यमा अग्रश्रेणीमा परेका बालबालिका रुची, क्षमता र सामाजिक-सांस्कृतिक कारणले अर्को कुनै कार्यमा पछिल्तिर पर्न सक्छन्। त्यस्तो अवस्थामा बालबालिका भन्दा पनि बढी निराश उनीहरुका अभिभावकहरू हुने गरेका छन्। निराश अभिभावकले बालबालिकामा कसरी उत्साह भर्न सक्छ? कसरी प्रेरित गरिरहन सक्छ?
परीक्षा सकिएर नजिता प्रकाशन भएपछि बालबालिकाको तस्बिर र मार्कसिट फेसबुकमा राख्ने प्रतिस्पर्धाले धेरै अभिभावकहरूलाई गिज्याइरहेको छ। एक त यसरी बालबालिकाको मार्कसिट राख्दा कतिपय गोपनीयता भंग हुने डर हुन्छ। त्यसमाथि पनि बालबालिकाको गोपनीयता अझ संवेदनशील विषय हो। तर हाम्रा अभिभावकलाई यो त प्रतिष्ठाको विषय बन्छ। र, रिजल्ट लिन गएर घर आइनपुगी कम्मेन्टमा बधाई खान मात्र हतार छ। यो विषयमा अहिले बालबालिका हुर्काइरहेका अभिभावक कति पनि सचेत नभएको कुरामा हामी भुक्तभोगी छौँ। उच्च अंक र राम्रो ग्रेड ल्याएका बालबालिकाको तस्बिर र मार्कसिट त फेसबुकमा प्राप्त हुन्छ तर कम अंक र श्रेणी ल्याएका बालबालिकाको तस्बिर र मार्कसिट कुनै पनि अभिभावकले फेसबुकमा राखेको पाइँदैन। यस्तो प्रवृत्तिले कम अंक प्राप्त गर्ने अर्को कुनै विद्यार्थी/बालबालिकालाई समान रूपमा सम्मान नगरिरहेको प्रष्टै हुन्छ। बालबालिकाबीच विदेभ झल्कने वातावरण सिर्जना गर्नु असल अभ्यास होइन।
बालअधिकारको संरक्षणका लागि चेतना फैलाउन र बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीतिनिर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने र आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरू सम्मान गर्नका लागि बालदिवस मनाइँदै आएको छ। तर यसमा अभिभावक, समाज र सरकारहरूले कतिको सार्थक प्रयास गरिरहेका छन् त त्यसको मूल्याकंन गर्ने बेला आएको छ।
भारतमा महात्मा गान्धीकाे जन्मदिनमा बालदिवस मनाएको देखर २०२१ सालमा रानी रत्नराज्य लक्ष्मीले नेपालमा पनि भदौ ४ गते राष्ट्रिय बाल दिवस मनाउन सुरु गरिएको थियो। छिमेकका राम्रा अभ्यासलाई अनुकरण गरी सुरु भएको राष्ट्रिय बालदिवस अहिले विश्वकै असल अभ्यास अनुकरणका लागि संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि नेपालले अनुमोदन गरेको दिन (सेप्टेम्बर १४)मा बालदिवस मनाउन थालिएको छ। बालदिवस मनाउन सुरु भएको ६१औँ वर्ष पुग्दा पनि बालबालिकाका कतिपय विषयमा हामी सचेत छैनौँ। छिमेक र विश्वव्यापी अनुकरणमा मनाउन थालिएको बालदिवस वास्तविक रूपमा बालअधिकारको सम्मान गर्ने कुरामा पनि नेपाल र नेपाली अग्रश्रेणीमा उभिन सकून्। बालमैत्री वातावरण निर्माण र बालबालिकाको सर्वांगीण विकासका लागि हरव्यक्तिले योगदान गर्न सकून्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij