२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

काठमाडौँ- प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन्।

नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए। २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

नेम्वाङले इलाम क्याम्पसमा पढ्दादेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका थिए। अनेरास्ववियुमा आवद्ध भएर २०२९ सालदेखि उनी कम्युनिस्ट राजनीति सुरु गरेका थिए। २०३३ सालमा राजद्रोह मुद्दामा उनी जेल समेतपरेका थिए।

नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य बनेका थिए। उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।

उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनः स्थापित संसदको सभामुख बनेका थिए।

वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले नेपाल ल क्याम्पसमा पढाएका थिए। उनले प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका थिए। नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij