नेपाली हिन्दू महिलाहरूले तिज पर्वलाई विशेष रूपमा मनाउँदै आएका छन्। नेपालीहरूको मौलिक पर्व मानिने तिजमा महिलाहरू बिहानैदेखि पूजाआजा, गीतनृत्य र तीर्थव्रतमा व्यस्त छन्। दर र व्रत तिजका मुख्य दुई पक्ष हुन् भने नृत्य र गीतसंगीत तिजलाई उल्लासमय बनाउने मुख्य तत्त्व हुन्।
तिज चेलीमाइतीको पर्व हो। यसले आपसी सम्बन्ध कसिलो बनाउने गरी काम पनि गर्दै आएको छ। तिज सुरु हुनुअघि नै चेलीहरूलाई माइतमा ल्याएर दरका रूपमा मिठोमसिनो खाने/खुवाउने चलन छ। भाद्र शुक्ल तृतीमा व्रत बसिने भएकाले अघिल्लो दिन आडिलो/पोषिलो खानेकुरा खाने चलन छ। यसलाई नै दर भनिएको हो। परम्परागत रूपमा ढकने वा चाम्रेलाई दर भन्ने गरिएपनि यही नै खानेकुरा खानुपर्छ भन्ने कुनै नीतिनियम छैन।
हिमालयपुत्री पार्वतीले भगवान शिवजीलाई वर/पतिका रूपमा प्राप्त गरौँ भनी तीजको व्रत बसेको र त्यही व्रतको प्रभावले शिवजीलाई पतिका रूपमा पाएका पौराणिक आख्यान छ। भगवान् विष्णु (हरि)ले दिएको विधि (तालिका)अनुसार पार्वतीले व्रत बसेकाले शिवलाई पतिका रूपमा पाउने पार्वतीको मनोकाङ्क्षा पूरा भएकाले नै यो पर्वलाई हरितालिका पनि भन्ने गरिएको हो। अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन्।
तिज पर्व पौराणिक र धार्मिक मान्यता मात्र नभएर सांस्कृतिक पक्षको संगम हो। हिजोआजको यो पर्व आधुनिक मात्र भएको भएको छैन, तिजमा विकृति मौलाएको भन्दै कतिपय क्रियाकलापमाथि टीकाटिप्पणी र आलोचना हुने गरेको छ। तिजमा दरका रूपमा मदिराले पनि प्रश्रय पाइरहेको छ। साथीभाइ भेटघाट गरेर केही दिनअघिबाट नै खानपान र भेटघाटलाई नराम्रो मानिहाल्नु पर्दैन। तर तिज संस्कृतिमा हुँदै नभएको मदिरालाई पनि दरका रूपमा समावेश गर्दा यसले हाम्रो मौलिकतालाई बचाउँदैन नै, स्वास्थ्यका लागि पनि उतिकै हानीकारक छ भन्ने कुरा भनिराख्नपर्दैन। तिजको दरमा मदिरा निषेध गरेर पनि उत्तिकै उल्लासमय बनाउन सकिन्छ।
तिज गीत, संगीत र नृत्यको त्रिवेणी पनि हो। तर हिजोआजका कतिपय तिजगीत बाबुआमा र दाजुबहिनीसँग बसेर सुन्न र हेर्न पनि नसकिने खालका आउन थालेका छन्। तिजगीतमा अश्लील र द्वि-अर्थी शब्दको बाढी आउन थालेको छ। चर्चा, बहस र भ्युजका लागि सर्जकहरूले यस्ता शब्द गीतमा घुसाउने गरेका छन्। द्विअर्थी शब्द नराखी पनि राम्रा गीत पनि बनाउन सकिन्छ। यस्ता गीतको मूल्य पनि बढी नै हुन्छ। यस्ता गीत बन्ने पनि गरेका छन्। भ्युज संख्या कम भएपनि सुसंस्कृत तिजगीतको गरिमा घटेको छैन, बरु बढ्दो क्रममै छ। सभ्य भाषाशैलीको प्रयोग भएका गीतलाई नै बढावा दिऔँ। हुन त कतिपयले रत्यौलीका गीतमा द्विअर्थी शब्द प्रयोग गर्दा कुनै आपत्ति नहुने तर तिजगीतमा राखिएका शब्दमा चाहिँ किन आपत्ति भन्दै प्रश्न पनि उठाउने गरेका छन्। तर रत्यौलीको सन्दर्भ र तिजको सन्दर्भ फरक हुने कुरा तिज र रत्यौली दुवैसँग परिचित नेपालीहरूलाई भनिराख्नुपर्ने कुरा होइन। गीतमा मात्र होइन, तिजका नृत्य पनि अश्लील हुन थालेको टिप्पणी छ। मौलिक नृत्यहरू गरिएको खण्डमा यस्तो टिप्पणी सुन्नै पर्दैन। तसर्थ तिज र गीतनृत्यमा देखिएको यो असमञ्जस्यता हटाउने काम गर्न जरुरी छ। यसतर्फ युवापुस्ता चनाखो हुनुपर्ने आवश्यकता छ।
तिज अब देशमा मात्र सीमित रहेन, सीमापार पनि पुग्दैछ। विदेशमा नेपालीहरूलाई जोड्ने यो एउटा माध्यम बनिसकेको छ। तिजले नेपालीहरूलाई मात्र जोडेको छैन, विदेशीहरूलाई पनि देखाउने हाम्रो सांस्कृतिक सम्पदा पनि तिज बनेको छ। विदेशका मन्दिरहरूमा नेपालीले धुमधाम तिज मनाउँदा कतिपय विदेशीले हाम्रो संस्कृतिबारे चासो राख्ने गरेका छन्। उनीहरूले नेपाली संस्कृति र हाम्रो पर्वको प्रशंशा गर्ने गरेका छन्। विदेशी भूमिमा हामी नेपालीलाई गौरवान्वित बनाउने काम पनि अरु पर्वले जस्तै तिजले गरिरहेको छ।
तिजका केही मौलिक परम्परा भने यतिबेला लोप भइसकेका छन्। तिजमा स्थानविशेषका लोकलय, लोकपरम्पराका गीतले हामीलाई छोडेर गइसकेका छन्। यस्ता परम्पराको जगेर्ना गरी पुस्तान्तरण गर्न सके मौलिक पर्वसंस्कृति लामो समयसम्म संरक्षण गर्न बल पुग्ने थियो। सूचना प्रविधिको विकासले धेरै कुरामा सहज भएको छ। तर मान्छेलाई समय भने अझ कमकम हुँदै गएको छ। तिजमा चेली लिन दिनहुँ पैदल हिँड्नुपर्ने अवस्था छैन। यसले गर्दा दिदीबहिनी लिनका लागि जानैपर्ने बाध्यता छैन। तर दिदीबहिनी लिनका लागि दाजुभाइ/माइती पक्ष जाने चलन हराउन थालेको छ। भौतिक दूरी कम नभएपनि सूचना प्रविधिको विकासले नजिक बनाउन मद्दत गरेको छ।
पछिल्ला तिजहरू भड्किलो बन्न थालेको र मौलिकताबाट टाढा पुगेको भन्ने आलोचना गर्ने केही ठाउँ भएपनि यो पर्वको मौलिकता संरक्षण हुँदै नभएको पनि होइन। दर खानु, पूजाव्रत गर्नु र नाचगान गर्नु तिजका पर्याय छँदैछन्। तसर्थ जहाँ जस्तो अवस्थामा भएपनि तिज मनाउनेले यो पर्वका सबै पक्षलाई उत्तिकै समान रूपमा आत्मसात गर्न नसकेपछि कुनै न कुनै पक्षमा सहभागी भएकै हुन्छौँ। फैलिँदै गरेका नेपालीहरूले यसलाई अझ भातृत्व प्रोत्साहन गर्ने पर्वका रूपमा पनि विस्तार पनि गरिरहेका छन्। तिजमा हुन थालेका विकृतिको संक्रमणबाट जोगाउँदै मौलिकताको संरक्षण गर्दै समय सुहाउँदो परिवर्तनलाई आत्मसात गर्दै तिज मनाउनुपर्नेछ। यसो गर्न सकेको खण्डमा हामीले पराम्परागत अन्धविश्वासलाई पनि तोड्न सक्नेछौँ भने मौलिकता पनि संरक्षण हुनेछ। तिजको मौलिकता बाँचिरहोस्, नेपाली दिदीबहिनी र दाजुबाइ तथा चेलीमाइतबीच अझ प्रगाढ सम्बन्ध बनाउन तिज पर्व सफल बनोस्। सबैलाई शुभकामना।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij