काठमाडौँ- आफूसँग मुखमुखै लागेको भनेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रहरीको हिरासतमा पुर्याएका स्थानीय युवक अशोक लिम्बु शनिबार साँझ रिहा भएका छन्।
गत शुक्रबार डेंगीविरुद्ध अभियान सञ्चालन गर्दै धरान–१५ पुगेका मेयर साम्पाङलाई अशोकले आफ्नो वडाका नागरिकका वास्तविक समस्यामा चाहिँ ध्यान नदिएको अन्य विषयमा अभियान सञ्चालन गरेर फोटो मात्रै खिचाएको भनी आलोचना गरेपछि उनलाई नगर प्रहरी लगाएर पक्राउ गरिएको थियो।
धराउन उपमहानगर वडा नम्बर १५ का बासिन्दा लिम्बुलाई वडाध्यक्ष नरेश इवारामको पहलमा छुटाइएको हो।
‘मैले जिम्मेवारी लिएर शनिबार साँझ ५ बजे उहाँलाई छुटाइयो’, वडाध्यक्ष इवारामले भने, ‘आवश्यक परेका बेला पुनः उपस्थित गराउने सर्तमा उहाँलाई रिहा गराइएको हो।’
मेयर साम्पाङसँग सवालजवाफ गरेको बाहेक अशोकविरुद्ध कुनै लिखित उजुरी नपरेको उनले बताए।
मेयर साम्पाङको व्यवहारप्रति वडाध्यक्ष इवारामले असन्तुष्टि व्यक्त गरे।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij