२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

सरकारले यसवर्ष पनि भेट्टाएन ‘सर्वाेत्कृष्ट कर्मचारी’

सरकारले यसवर्ष पनि भेट्टाएन ‘सर्वाेत्कृष्ट कर्मचारी’

काठमाडौं । सरकारले यसपटक पनि सरकारी संयन्त्रमा ‘सर्वाेत्कृष्ट कर्मचारी’ भेट्टाउन सकेन । सरकारले निजामती सेवा दिवसका दिन आज ‘उत्कृष्ट र निजामती सेवा पुरस्कार’ मात्रै घोषणा गरेको छ ।

सरकारले निजामती सेवा दिवसका दिन कर्मचारीहरूलाई सर्वाेत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिँदै आएको छ । तर, ‘उत्कृष्ट कर्मचारी’ कुनै–कुनै वर्ष मात्र फेला पर्ने गरेका छन् । सर्वाेत्कृष्ट कर्मचारी नभेट्टाउँदा राज्यलाई दुई लाख रुपैयाँ बचत हुने गरेको छ । सरकारले सर्वाेत्कृष्ट कर्मचारी एकाध पटक मात्र फेला पर्नुले कर्मचारीतन्त्रमा अति राम्रा काम गर्ने मानिसको संख्या नै नभएको आभास गराउँछ ।

उत्कृष्ट सेवा पुरस्कारका निम्ति १० र निजामती सेवा पुरस्कारका लागि ३० जना छनोट भएका छन् । उत्कृष्ट १ लाख रुपैयाँ र निजामती सेवा पुरस्कार राशि ५० हजार रुपैयाँ हुन्छ । सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कारको २ लाख रुपैयाँ हुन्छ ।

उत्कृष्ट पुस्कार प्राप्त गर्नेमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सहसचिव बुद्धबहादुर गुरुङ, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत मानबहादुर खड्का, कानुन–न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल छन् ।

त्यस्तै उत्कृष्टमा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदबारीका चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल, आन्तरिक राजस्व कार्यालय हेटौँडाका नायब सुब्बा शुभलक्ष्मी लामा छन् ।

उता, निजामती सेवा पुरस्कार प्राप्त गर्नेमा कान्ति बाल अस्पतालका प्रमुख नर्सिङ प्रशासक डा. रोशनी लक्ष्मी तुइतुई, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरीन्टेडेन्ट कुमारप्रसाद घिमिरे, श्रम तथा रोजगार कार्यालयका बरिष्ठ कारखाना निरीक्षक सुजन जोजिजु, ठूलीभेरी नगरपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, शिक्षा तथा विज्ञान तथा समन्वय इकाइ कार्यालय बर्दियाका इकाइ प्रमुख रेविका अमात्य, खाद्य सुरक्षा तथा पोषण सुधार आयोजना सिन्धुपाल्चोकका अधिकृत राजेशकुमार केसी छन् ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराई, वनस्पति विभाका बरिष्ठ योजना अधिृकत संगीता कुँवर, राहदानी विभागका उपसचिव डा. डमरुबल्लभ भट्टराई, लोक सेवा आयोगका उपसचिव नारायणप्रसाद ज्ञवाली, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव चुडाराज सापकोटा, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर शोभा गिरी, उच्च अदालत दिपायलका इजलास अधिकृत नरबहादुर नेगीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij