२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आफ्नो अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्रीलाई त्रिवि स्ववियुको चेतावनी

आफ्नो अभिव्यक्ति पुष्टि गर्न शिक्षामन्त्रीलाई त्रिवि स्ववियुको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिवि पदाधिकारीहरूलाई धम्की दिनेको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

बुधबार स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति जारी गरी कसले, कहिले, कुन माध्यमबाट सुरक्षा थ्रेट दिएको हो त्यसको प्रमाण सार्वजनिक गर्न माग गरेका हुन् ।

बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीलाई सुरक्षा थ्रेट भएको भन्दै गृहमन्त्रीलाई सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु ।’

स्ववियु सभापति ओझाले विश्वविद्यालय जस्तो एउटा स्वायत्त निकायमा कुनै पनि प्रकारको दवाव, प्रभाव रहन हुँदैन र सबै पदाधिकारी, प्राध्यापक, विद्यार्थी तथा कर्मचारी सुरक्षित रहेर निर्वाध रूपमा शैक्षिक गतिविधिमा लाग्न पाउनुपर्दछ भन्ने मान्यतालाई ध्यानमा राखिएको पनि उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो केही दिन यता विश्वविद्यालयका पदाधिकारीलाई असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित बन्न नसकेको भन्ने समाचार सम्प्रेषण भइरहेको विषयप्रति स्वतन्त्र विद्यार्थी युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । पदाधिकारीलाई सुरक्षा थ्रेट भएका कारण विश्वविद्यालयमा उपस्थित नभएको र उक्त असुरक्षा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण गरिनुले हामीलाई चकित तुल्याएको छ। कसले? कहाँ? कुन माध्यमबाट? कसलाई? कुन प्रकारको? धम्की दिएको हो त्यो नखुलाई विद्यार्थी राजनीति र आन्दोलनका आजसम्मका उपलब्धिहरुको समेत अबमूल्यन हुनेगरी विश्वविद्यालयका पदाधिकारीको गैर–जिम्मेवारपूर्ण अभिव्यक्ति र मिडियाबाजीले हामीलाई लज्जित तुल्याएको छ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij