२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

सिपिसीद्वारा पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका अवसर सिर्जना गर्ने उपाध्यक्ष घिमिरेको विश्वास

सिपिसीद्वारा पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका अवसर सिर्जना गर्ने उपाध्यक्ष घिमिरेको विश्वास

 

काठमाडौँ ।  राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेसबाट पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेकी छन् ।

फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले शुक्रबार आयोजना गरेको ‘सिपिसीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेसः नेपालसँग विकास अवसरको साझेदारी’ कार्यक्रममा उहाँले सो प्रस्ताव चीनका लागि मात्र नभई मानव जातिका लागि साझा भविष्य निर्माणमा केन्द्रित भएको बताएकी हुन् ।

उपाध्यक्ष घिमिरेले भनिन्, “उच्च गुणस्तरको हरित विकास र साझा समृद्धिको लक्ष्यले नेपालजस्ता मित्र राष्ट्रसँगको सहयोगलाई थप उचाइमा पुर्याउने छ ।” उनले विश्वव्यापी चुनौतीका रुपमा देखापरेका जलवायु परिवर्तन तथा सुस्त आर्थिक वृद्धिलगायत समाधान गर्न विश्व समुदाय एकताबद्ध हुनुपर्ने सन्दर्भमा चिनियाँ राष्ट्रपतिद्वारा प्रस्तावित ‘मानव जातिका लागि साझा भविष्य निर्माण’ को अवधारणाले ठूलो अर्थ र महत्त्व राखेको बताइन् ।

“हाम्रा सहयोग द्विपक्षीय पहलमा मात्र सीमित रहन हुँदैन, विश्व्यापी चुनौतीको समाधान गर्न बहुआयामिक मञ्च खडा गर्नुपर्छ”, उपाध्यक्ष घिमिरेले भनिन्, “संयुक्त राष्ट्रसङ्घ, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लगायत विश्वव्यापी मञ्चमा चीन र नेपालले न्यायसङ्गत विश्वव्यापी व्यवस्थाको वकालत गर्नुपर्छ, जसले सम्पूर्ण राष्ट्रको सार्वभौमसत्ता, विकास र अधिकाको सम्मान गर्न सक्दछ ।” साझा विश्वको बाटो चुनौतीपूर्ण नरहेको उल्लेख गर्दै उनले इमान्दारी, आपसी सम्मान र साझा दृष्टिकोणका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।

चीनको विकास प्रयास नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उनले चिनियाँ अर्थतन्त्रको चामत्कारिक रुपान्तरण विकासिल राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताइन् । उनले नेपाल र चीनबीच पूर्वाधार, ऊर्जा, कषि, पर्यटन, संस्कृति, हरित विकास, शिक्षा तथा क्षमता अभिवृद्धि, ग्रामीण विकास र सम्पर्क सञ्जाल विस्तारमा साझेदारीको प्रबल सम्भावना रहेको बताइन् ।

नेपाल–चीन सम्बन्ध ऐतिहासक, सांस्कृतिक तथा आर्थिकरुपमा प्रगाढ रहेको उल्लेख गर्दै उनले पछिल्ला समय दुई देशबीचको साझेदारी झन् बलियो बन्दै गइरहेको बताइन् । उनले भनिन्, “नेपाल र चीनबीच  जनस्तरसम्म रानजीतिक, आर्थिक र सांस्कृति लाभको आदानप्रादन हुँदै आएको छ, यसका माध्यमबाट सम्पर्क सञ्जालको विस्तारसँगै आर्थिक वृद्धि र आमनागरिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ ।”

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीले अघि सारेको हरित क्रान्ति नीतिले जलवायु परिवर्तनको विश्वव्यापी चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसबाट जलवायु परिवर्तनको चपेटामा परेका नेपालजस्ता मुलुकले लाभ लिनसक्ने बताए। “चीनको आधुनिकीकरण त्यहाँ मात्र सीमित छैन, यसबाट नेपालसहित अन्य मुलुकले पनि लाभ लिन सक्नेछन्”, उनले भने ।

चीन नेपालको निकट मित्र मात्रै नभई विकास साझेदारका रुपमा पनि रहेको जनाउँदै पूर्वराजदूत श्रेष्ठले विकास प्रयासमा चीनको थप सहयोगको खाँचो औँल्याए । नेपालले भारत र चीनसँग समदूरीको सम्बन्ध राखेर अघि बढ्नुपर्ने उनले जोड दिए ।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सीले सिपिसीबाट पारित प्रस्तावले विशेष गरी नेपालगायत छिमेकी मुलुक र विश्व समुदायमा विकासका धेरै अवसर र लाभ सिर्जना गर्ने बताए । चीनको रेनमिन विश्विद्यालयका प्राध्यापक स्या लुले राष्ट्रिय कंग्रेसबाट पारित विशेष प्रस्तावको विवेचना गर्दै यसले नयाँ युगको यात्रा चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन व्यापक सुधारको बाटो पहिल्याएको बताए ।

पत्रकार गोपाल खनालले चिनियाँ समृद्धिबाट नेपालले कसरी लाभ लिने भन्नेमा ध्यान दिनुपर्ने बताए । आयोजक संस्थाका महासचिव डा कल्याणराज शर्माले विश्वको ठूलो अर्थतन्त्र चीनले थालेको व्यापक सुधारका पहलबाट नेपालको विकास प्रयासमा थप सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij