२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

विवादमा परेपछि प्रस्तावित निर्वाचन आयुक्त प्रधानद्वारा नाम फिर्ताका लागि निवेदन

विवादमा परेपछि प्रस्तावित निर्वाचन आयुक्त प्रधानद्वारा नाम फिर्ताका लागि निवेदन

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिले आफ्नो नाम अनुमोदन नगर्ने संकेत पाएपछि नाम  फिर्ताका लागि निवेदन दिएका छन् ।

प्रधानले सोमबार संसद सचिवालयमा नाम फिर्ताका लागि निवेदन दर्ता गराएका हुन् । संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानविरूद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो ।

उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको थियो । संवैधानिक परिषद्ले गरेको सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ ।

तर, यौन हिंसाको गम्भीर आरोप लागेपछि उनको नाम संसदीय समितिले अस्वीकृत गर्ने सम्भावना बढेको थियो । संसदीय समितिबाट नाम अनुमोदन नहुने देखेपछि प्रधानले आफैँ नाम फिर्ता लिन भन्दै निवेदन दिएका हुन् ।

प्रधानकाबारेमा निर्णय गर्न सोमबार बिहान साढे ११ बजे समितिको बैठक बोलाइएको थियो । तर पछि साँझ पाँच बजेका लागि बैठक सारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचसमेत सोमबार बिहान यसबारेमा छलफल भएको थियो । छलफलमा दुई नेता प्रधानलाई अनुमोदन गर्न नहुने पक्षमा देखिएको बताइएको छ । त्यसपछि प्रधान आफैं नाम फिर्ताका लागि तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij