२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

यो सरकारलाई असफल हुने छुट छैनः कोइराला

यो सरकारलाई असफल हुने छुट छैनः कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष पूरा गरेका अवसरमा मंगलबार आयोजित ‘संविधान संशोधनः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा कोइरालाले नागरिकमा बढेको निराशा चिर्न, संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने सर्तमा दुई ठूला दलबीच सहकार्य भएकाले सोअनुसार परिणाम दिन नसके थप अनिश्चितता बढ्ने बताए ।

डा कोइरालाले सरकारलाई सही काम गर्न पार्टीभित्रका नेता, प्रेस जगत्, नागरिक समाजलगायत सबैले खबरदारी गरिरहनुपर्नेमा समेत जोड दिए ।

‘देशमा रहेका समस्या समाधान, राजनीतिक स्थायित्व र नागरिक निराशा चिर्न तथा संविधान संशोधन गरी देशमा स्थिरता ल्याउने भन्दै दुई ठूला दल एकठाउँमा आएका छौँ । यस अवस्थामा धेरै अपेक्षा र आशङ्का छन् । कतिपयले ठूला शक्ति मिलेकाले निरंकुशतातिर उन्मुख होलान् कि भनी शङ्का गरिरहेका छन् । त्यसले यो सरकारलाई असफल हुने छुट छैन’, उनले भने,’निरंकुश हुने सवालमा तपाईंहामी सबैले आआफ्नो ठाउँबाट खबरदारी गरिरहनुपर्छ । यसमा नेपाल प्रेस युनियनलगायत प्रेससँग सम्बन्धित संस्थाको भूमिका थप महत्वपूर्ण छ ।’

त्यसैगरी उनले १० वर्षमा संविधानमा पुनरावलोकन गर्ने कुरा संविधानमै उल्लेख भएकाले पनि दुई दलले यसलाई निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाइ थियो । संविधान संशोधनका विषयमा बहस चलाउनु सान्दर्भिक रहेको उल्लेख गर्दै कोइरालाले यस विषयमा सबै तहमा छलफल चलाउन आवश्यक रहेको बताए ।

‘के–केमा संविधान संशोधन गर्ने भन्ने निश्चित गरिनुपर्छ । मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले राजनीतिक अस्थिरता हुने गरेको छ । त्यसैले समावेशी प्रतिनिधित्वसमेत सुनिश्चित, राजनीतिक स्थिरता र नागरिकमा आशा जागृत हुने गरी संविधान संशोधन हुनुपर्छ’, कोइरालाले भने । संसद्मा रहेका सबै राजनीतिक दलले बृहत् समझादारी गरेर संविधान संशोधन गरिनुपर्ने उनको विचार छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij