२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

जोखिमपूर्ण सडकयात्रा कहिलेसम्म ?

जोखिमपूर्ण सडकयात्रा कहिलेसम्म ?

नेपालमा सवारी दुर्घटना एक गम्भीर चुनौतीका रुपमा देखा परेको छ । वर्षेनी हजारौं मानिसले सडक दुर्घटनामै परेर ज्यान गुमाउनुपरेको छ भने हजारौं मानिसहरु घाइते जीवन जिउन बाध्य छन् । सवारी दुर्घटना र विपत्तिमा वेपत्ता हुनेहरुका परिवारको पीडा अझ सहिनसक्नुको छ ।

संघीय सरकार परिवर्तनको कसरत भइरहँदा गत असार २८ गते काठमाडौं—नारायणगढ सडकखण्डको सिमलतालमा पहिरोले २ वटा यात्रुवाहक बस बगायो । ती बसमा सवार ६५ जनामध्ये २५ जनाको शव फेला परिसकेको छ, ३७ यात्रु अझै वेपत्ता छन् भने ३ जनाले पौडेर आफ्नो ज्यान जोगाए । पहिरोका कारण त्रिशुलीमा खसेका दुवै बसका वेपत्ता यात्रुको खोजी जारी रहँदा आफन्तहरुले आश मारेर कुशको शव बनाएर अन्तिमसंस्कार गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् । हरेक वर्ष नेपालमा ठूलो मानवीय क्षति हुने सडक दुर्घटनाहरु भइरहेका छन् । त्यस्ता दुर्घटनापश्चात सर्वत्र मानवीय संवेदना व्यक्त भएको पनि पाइन्छ तर दुर्घटना न्यूनीकरणका लागि विश्वसनीय प्रयत्न भएको पाइदैन ।

डरलाग्दो  तथ्यांक

नेपाल प्रहरीका अनुसार नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । यस्ता दुर्घटनामा परी ज्यान गुमाउनेको औसत संख्या दैनिक ७ जना रहेको छ भने दैनिक ८८ जना घाइते हुने गरेका छन् । गत वर्षको तथ्यांक मात्रै हेर्ने हो भने नेपालभर ३५ हजार ४ सय ४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी २ हजार ३ सय ६८ जनाको मृत्यु भयो भने ६ हजार १ सय ६० जना गम्भीर घाइते भए । सामान्य घाइते हुनेको संख्या २५ हजार ९ सय ९६ हुँदा दुर्घटनामा परी १ सय १ पशु चौपायासमेत मरेका छन् ।

प्रस्तुत तथ्यांकले हरेक दिन ७ जना नेपालीले सडक दुर्घटनामा परी ज्यान गुमाउने दुःखद अवस्था चित्रण गर्छ । दुर्घटनामा अधिकाशं २ पांग्रे सवारी साधन पर्ने गरेका छन् तर मानवीय क्षति भने ठूला सवारी दुर्घटनाकै कारण बढी हुने गरेको छ । गत वर्षमात्रै १९ हजार ९ सय ८४ वटा दुई पांग्रे सवारी साधन दुर्घटनामा पर्दा ६ हजार ८ सय ३७ कार, जीप वा हलुका चार पांग्रे सवारी साधन दुर्घटनामा परेका छन् । २ हजार १ सय ९३ बस, १ हजार ४ सय ६८ ट्रक , ७ सय ८३ टयाक्टर र ४ सय माइक्रोबस दुर्घटनामा परेको तथ्यांक आफैंमा डरलाग्दो छ ।

किन जोखिममा छ यात्रा ?

नेपालमा सडक यात्रा जति अपरिहार्य छ उत्ति नै जोखिमपूर्ण पनि छ । विषम भौगोलिक बनावटका बावजुद तराईका समथर फाँटदेखि उच्च पहाडी जिल्लाका तारेभिरहरुमा समेत सडक मार्ग बनिसकेका छन् । केही घटनाहरुमा चालकको लापरवाही वा सवारी साधनको स्थिति दुर्घटनाको मुख्य कारणका रुपमा देखिन्छन् । यद्यपि अधिकांश दुर्घटनाको कारण हाम्रो सडकको दुरावस्था र पूर्व तयारीको अभावकै कारण हुने गरेको छ । उदाहरणकै लागि गत असार २८ मा सिमलतालमा २ यात्रुवाहक बस पहिरोले बगाएर त्रिशुलीमा खस्नुको मुख्य कारण सडकको दुरावस्था नै हो । नियमितको झरीले सडकमार्गमा पुगेको क्षति, सडकछेउका पाखाहरुमा पहिरोको खतरा हुनु र सरोकारवाला निकायले बेलैमा सचेत नगराएका कारण सो दुर्घटना हुन पुगेको हो । बाढी पहिरोको उच्च जोखिम रहेको र झरी परिरहेको बेलामा सो राजमार्गमा रातको समयमा यात्रुबाहक बसहरु चल्न दिनु नै मुख्य कमजोरी हो । यो एउटा सन्दर्भ मात्रै हो । वर्षभरी नेपालमा हुने अधिकांश सडक दुर्घटना सडककै कारण हुने गरेका छन् ।

सडकका लागि पर्याप्त अध्ययन नगरी जथाभावी डोजर चलाउने क्रम बढेको छ । विकासलाई व्यक्ति अनुकुल बनाउने प्रयत्नले कमजोर भौगोलिक बनावट भएका स्थानमा पनि डोजर खनेर बाटो पुर्याइएको छ । सडकलाई मजबुद, गुणस्तरी बनाउने भन्दा पनि ट्रयाक मात्रै भएपनि खोल्ने क्रम बढ्दो छ । राष्ट्रिय राजमार्गहरुकै अवस्था दयनीय छ भने सहायक मार्गहरुको दुर्गति हामी आँकलन गर्न सक्दछौं । सरकारले सडकको स्तरअनुसारको न्यूनतम शर्तसहितका पूर्वाधार निर्माणमा ध्यान दिएको छैन । नागरिक समाजले पनि सुरक्षित र सुव्यवस्थित सडकलाई कहिल्यै पनि प्राथमिकतामा राखेको पाइदैन ।

राजस्वमा मात्रै ध्यान

नेपाल सरकारले सर्वाधिक राजस्व हासिल गर्नेमध्ये एक सडक पनि हो । काठमाडौं र मुख्य शहरहरुमा ट्राफिकको मुख्य काम भनेकै राजस्व संकलन गर्नुजस्तो भएको छ । संसारमा कुनैपनि देशमा चोकैपिच्छे दिनैपिच्छे ट्राफिकले ढुकी ढुकी सवारीलाई दुःख दिदैन । नेपालमा भने एकैदिन दर्जनबढी स्थानमा ट्राफिकलाई कागजात देखाउनुपर्ने हुन्छ । ट्राफिकको यो कदमले सुरक्षित यात्रालाई भन्दा राजस्व संकलनलाई बढी प्राथमिकता दिएको देखिन्छ । ट्राफिक प्रहरीले आर्थिक वर्ष ७९÷८० मा मात्रै सवारी साधनहरुमाथि गरेको कारवाहीबाट १ अर्ब ८५ करोड २५ लाख ४२ हजार ४ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । जुनस्तरमा सरकारले सडकबाट राजस्व उठाएको छ त्यही स्तरमा सडकमा लगानी गरेको पाइदैन । स्तरवृद्धि गर्ने भनिएका देशभरका सडकहरु एकैपटक निर्माण सुरु गरिएका कारण पुर्व पश्चिम जता गएपनि सडकको हालत खराब देखिन्छ । राज्यले राजस्व संकलन भन्दा असल चालक संस्कृति निर्माण गर्न र सडकको स्तरोन्नति गर्न बढी प्रयत्न गर्नुपर्ने देखिन्छ ।

जिम्मेवार बनौं

सडक दुर्घटनामा परी हरेक दिन ज्यान गुमाएका ७ जना प्रति जवाफदेही बनौं । तिनका आश्रित परिवार र आफन्तप्रति जिम्मेवार बनौं । समग्रमा राज्य नागरिकको सुरक्षाप्रति जिम्मेवार बनोस् । सडकलाई खन्ने र खोतल्ने मात्रै नभएर सुव्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्ड अनुकुलको बनाउन प्रयत्न गरौं । नेपालका सबैजसो नेता, सांसद र मन्त्रीले विकसित राष्ट्रहरुको भ्रमण गरेकै छन् । ती देशहरुमा सडकको स्तर र व्यवस्थापन देखेर उत्साहित हुनेहरुले आफ्नो देशमा पनि त्यस्तै सडक बनाउन मेहेनत गर्न जरुरी छ । नेपालमा फेरी नयाँ सरकार बनेको छ । मन्त्रीहरु नयाँ आएका छन् । यस्तो बेला सडक पनि नयाँ बनोस् । यात्रा गर्दागर्दै गन्तव्यमा नपुगी संसार छोड्न बाध्य हुनुपर्ने दुरावस्था चाडै अन्त्य गरौं ।

लेखक समाजप्रेसकी ग्लोबल इडिटर हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij