२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

अब एकले अर्कालाई ढाट्ने र धोका दिने परिपाटीको अन्त्य हुनुपर्छः महामन्त्री थापा

अब एकले अर्कालाई ढाट्ने र धोका दिने परिपाटीको अन्त्य हुनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा ४२ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमालई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुशासित रहेको बताएका हुन् ।

एक राजनीतिक दलले कुनै अर्को राजनीतिक दललाई ढाँट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई ठूला दल एक ठाउँमा आएको उल्लेख गर्दै महामन्त्री थापाले अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्ने बताए ।

उनले भने, ‘एमाले–कांग्रेसले गरेको सम्झौताको एक बुँदामा स्थिर सरकार दिने भनेका छौं । देश निकै अस्थिर सरकारमा गिजोलिरहेको अवस्थामा देशका दुई ठूला दल मिल्यो भने २०८४ सालसम्म तलमाथि गर्दैनौं भनेर भन्यौं । एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई दल एक ठाउँमा मिलेका छौं । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्दछ ।’

उनले एमालेसँग भएका सहमतिमा नेपाली कांग्रेसको तर्फबाट केही पनि तलमाथि नहुने बताए । उनले भने, ‘म नेपाली कांग्रेसको जिम्मा लिएर भन्छु सरकार निर्माणका क्रममा नेकपा एमालेसँग भएका सहमतिमा नेपाली कांग्रेसको तर्फबाट केही पनि तलमाथि हुँदैन । अहिलेको दुई वर्ष एमाले अध्यक्ष केपी ओलीज्यूको नेतृत्वमा सरकार बनाउने भनिएको छ । हामीले लोभ गरेर, चकचक गरेर अथवा हाम्रो कारणले तलमाथि हुँदैन । एमालेबाट पनि हामीले यस्तै अपेक्षा गरेका छौं । त्यो भएन भने अन्तिम भनेपनि हुन्छ।’

उनले भ्रष्टाचारमा संलग्न कोही छ भने कांग्रेस वा एमाले भएका कारण छुट पाउन नहुने बताए । उनले भने,‘कोही कांग्रेस भएकै कारण दुःख पाउनु भएन । अनि कोही एमाले भएकै कारणले दुःख पाउनु भएन । तर कसैले भ्रष्टाचार गरेको छ भने ऊ एमाले वा कांग्रेस भएकैले उसले उन्मुक्ति पाउनु हुँदैन ।’

महामन्त्री थापाले २०४८ सालदेखि २०५१ सम्मको तीन वर्षको अवधीमा कांग्रेस नेतृत्वको सरकारले देशमा औद्योगीकरणको सुरुवात भएपनि माओवादी जनयुद्धले उद्योग निर्माणमा पूर्णविराम लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij