काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि पनि बाढी आएको छ। लगातारको झरीपछि मेलम्ची नदीमा बाढी आएको हो। बाढीका कारण हेलम्बु ४ मेलम्चीमा रहेको सरस्वती माध्यामिक विद्यालयको शौचालय बगाएको छ। वडाअध्यक्ष बुद्धिमान तामाङका अनुसार मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको हो।
उनका अनुसार विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको छ। ‘विद्यालयको चौरसम्म पानी आइसकेको छ,’ उनले भने।बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको पनि वडाध्यक्ष तामाङले बताएका छन्।
‘नदी बजारको घरहरू नजिकै पुगिसक्यो, यसरी नै बहाब बढ्यो भने वस्तीमा बाढी छिर्छ,’ उनले भने। मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। विद्यालय जोखिममा परेपछि आज विदा दिइएको छ।
पछिल्लो २४ घन्टामा मेलम्ची आसपास १२२ मिलिमिटर वर्षा भइरहेको छ। अहिले पनि एकदुई ठाउँमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
यसअघि २०७८ असार १ र साउन १६ गते गेग्रानसहितको भेलबाढीले तटीय क्षेत्र तहसनहसन बनाएको थियो, दुई वर्षपछि पुन: बाढीले कटान गरेको हो त्यसयता मेलम्चीमा बर्खायाममा सधैँ बाढीको जोखिम हुँदै आएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij