२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सर्वदलीय बैठकमा एमालेलाई राष्ट्रपतिको जवाफ – मैले ‘एक्टिभिजम’ देखाउन खोजेको होइन

सर्वदलीय बैठकमा एमालेलाई राष्ट्रपतिको जवाफ – मैले ‘एक्टिभिजम’ देखाउन खोजेको होइन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको चिन्ताले सर्वदलीय बैठक राखेको बताएका छन्।

आज बिहान शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा उनले आफू कुनै सक्रिय हुन खोजेको नभई राष्ट्रप्रतिको चिन्ताले दलहरूसँग छलफल गरेको बताएका हुन्।

‘यो मैले एक्टिभिजम (सक्रियता) देखाउन खोजेको होइन’, राष्ट्रपतिको सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिको भनाइ उधृत गर्दै भने, ‘म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो। विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन। तपाईंहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो।’

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी भएका थिए।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वदलीय बैठकबारे आफूहरूलाई जानकारी नै नभएको दाबी गरे।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij