२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

‘तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापतिज्यू, समीक्षा गर्नुस्’

‘तपाईंको गाडीको सिसा कालो भइसक्यो, सभापतिज्यू, समीक्षा गर्नुस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र महामन्त्री डा.मुकुल ढकालबीचको विवाद बढ्दै गएको छ । बुधबारको केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले आफूले तयार पारेको प्रस्ताव सभापति लामिछानेले पेश गर्न दिएनन् ।

प्रतिवेदन पेश गर्न नदिएपछि महामन्त्री ढकालले प्रतिवेदनको आधारमा तयार पारिएको प्रस्ताव पेश गरेका छन् । प्रस्तावमा उनले पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘‘मेरा कुराहरू सुनेर सभापति ज्यू, केन्द्रीय सदस्य ज्यूहरू कोही पनि नरिसाउनु होला। सच्चिऔं। सच्चिने, तपाईंहरू मात्र सच्चिने भनेकै छैन। मैले खाली सच्चिन अघि केही गल्तीहरु गरे होला। म पनि सच्चिने, तपाईं पनि सच्चिने र सभापति पनि सच्चिने। किन कि प्रश्न आइसक्यो ? सच्चिने कि…. ? भो अर्को शब्द नबोलौं होला। फेरि साथीहरूलाई लाग्न सक्छ, सभापति सक्किने भन्ने तँ को हो ? पार्टी सक्किन्छ भन्ने तँ को हो ? मलाई चुप लगाउन सक्नुहोला, तर जनतालाई ? यी प्रश्न मेरा हुन् कि जनताका आफैं मुल्याङ्कन गर्नुहोस्।’

प्रस्तावमा उनले राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिने उल्लेख गरेका छन् । उनले भनेका छन्,‘राजनीति छोड़ देशको हित हुन्छ भने पनि छोडिदिन्छु। देशको हितमा ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरू भनिदिनुहोस्।’

त्यस्तै उनले आफ्नो व्यक्तिगत जीवनकै विषयमा केन्द्रीय सदस्यहरुले पनि टिप्पणी गरेको प्रस्तावमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गल्फ्रेन्डको कुरा । मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस् । केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु । वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ । तर निर्णय गरिदेओस् ।’

उनले पार्टी सभापतिलाई बोलेका कुराको रेडर्क राखेर उत्तर दिन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सभापतिज्यू, तपाईंले बोलेका सबै कुराको रेकर्ड राखेर उत्तर दिनपर्यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरु । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔँ, ती बोलीहरुको अभिलेखिकरणका लागि । अरुले बोलेका कुराहरु मलाई मतलब छैन, मलाई तपाईंले बोेलेका कुराहरु मतलब छन् । हिजो किन बोल्नुभयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछिमात्रै बोल्नुहोला ।’

बैठकमा बोल्न नदिएको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij