२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

मन्त्री बन्दै गरेकी अनिताको शपथ आज

मन्त्री बन्दै गरेकी अनिताको शपथ आज

काठमाडौँ- जनमत पार्टीका तर्फबाट मन्त्री बन्न लागेकी अनितादेवी साहको शपथ आज सोमबार हुने हुँदैछ। राष्ट्रपति कार्यालयका अनुसार बिहान १० बजे साहले पद तथा गोपनीयताको शपथ लिनेछिन्।

माओवादीबाट मन्त्री बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले जनमतलाई सरकारमा सहभागी गराएका हुन्। साहलाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने टुंगो पनि आज नै लाग्ने भएको छ।

जनमत चार महिनाअघि पनि सरकारमा सहभागी थियो। तर रोजेको मन्त्रालय नपाएपछि उक्त पार्टी सरकारबाट बाहिरिएको थियो।

जनमतले साहलाई मन्त्री बनाउन यसअघि नै निर्णय गरिसकेको छ। जनमत पार्टीले अनितादेवीलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको थियो।

गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए।

मन्त्री बन्न लागेकी साह पार्टी सचिव हुन्। धनुषाकी साह जनमतमा लाग्नुभन्दा पहिले गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij