२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आज यी क्षेत्रमा पर्नेछ भारी वर्षा, बाढीको जोखिम पनि उत्तिकै

आज यी क्षेत्रमा पर्नेछ भारी वर्षा, बाढीको जोखिम पनि उत्तिकै

काठमाडौं- देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ । कोसी र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयको सम्भाना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागको भनाइ छ ।

नेपालमा हाल मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

त्यसैले अझै कम्तीमा तीन/चार दिनसम्म वर्षाको क्रम जारी रहने मौसमविद् सञ्जिव अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij