राजनीति रविले छाड्लान् की गगनले ? बितेको साता धेरैले यस्तै प्रश्न सोधे । यो प्रश्नले उत्तर खोजेको होइन । यसले त तुलना खोजेको हो । नेपाली राजनीतिमा रवि कि गगन भन्ने प्रश्नलाई मलजल गर्न खोजेको हो । ‘वान टु वान’ च्यालेन्ज गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाबीचको ‘शीतयुद्ध’ सोसल मिडियाका बिकाउ कन्टेन्ट मात्रै होइनन् । नेपाली समाजले मिहिन ढंगले बहस गर्नुपर्ने पात्र र प्रवृत्ति हुन् ।
अब २ सातामा गणतन्त्र दिवस आउँछ । टुडिखेलमा गणतन्त्र दिवसको समारोहमा सलामी लिदै हुनेछन् रवि । गणतन्त्रले के दियो भनेर सोधिने प्रश्नका उत्तर दिदैं हुनेछन् गगन । आखिर गणतन्त्रले यत्ति नै त दियो भन्दिदा पनि उत्तर काफी हुन्छ । तर नेपाली समाजलाई कब्जियत भइसकेको छ । सत्य पचाउन नसकेर असत्य, भ्रम र झूठका पाचक नेपाली समाजको सारथी भइसकेको छ । यसर्थ गगनको गति र रविको मतिबारे सविस्तार भन्न जरुरी छ ।
नेपाली राजनीतिका दुई प्रतिनिधिपात्र रवि र गगन । परम्परागत राजनीतिक दलको भुंग्रोबाट खारिदैं जोगिदै आएका हुन् गगन । वैकल्पिक राजनीतिको खोजी, सामाजिक सञ्जालको वेग र परम्परागत दलविरुद्धको आवेगबाट उदाएका हुन् रवि । दुवैमा वाककला उत्तिकै छ । आफ्ना कुरा प्रष्टसँग भन्नसक्छन् । सञ्चारकलामा दुवै निपुण छन् । युवापुस्तामा दुवै लोकप्रिय छन् । तर केही त भिन्नता छ । गति र मतिको यही भिन्नता नेपाली समाजले जान्न जरुरी छ ।
अहिले चर्चामा रहेको सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं रास्वपा सभापतिको संलग्नताको विषयलाई एकैछिनका लागि बिर्सौ । के रवि अब निर्विवाद रहन्छन् ? रहँदैनन् । किनकी दोहोरो पासपोर्ट र नागरिकता दुरुपयोगको विषय अन्तिम किनारा लागेको छैन । सत्ता समीकरण र राजनीतिक स्वार्थका बलमा यो विषय पाखा पारिएको बुझ्न सायदै गार्हो पर्ला ।
एकैछिनलाई यो पनि बिर्सौ । सहकारी ठगी र पासपोर्ट दुरुपयोगमा रविको नाम नजोडौं । के अब रवि पवित्र छन् ? छैनन् । किनकी उपचुनावको दौरान रविका सवारी चालक दिलबहादुर थापाको ३ तले घरको छतबाट ‘खसेर’ निधन भएको थियो । पत्रकार सम्मेलन गरेर माइतीघरको ‘एक दुर्घटना’ बारे कुनैबेला रविले जेहाद छेडेका थिए । उनै रविका ड्राइभर थापाको ‘रहस्यमय मृत्यु’ के भवितव्य मात्रै थियो ? रविको नभएर ती ड्राइभर अरु नै नेताको थिए भन्ने के सम्म भन्थे रविले ?
खैर यसलाई भवितव्य नै मानौं । रविलाई यसको दोष नदिऔं । के अब रवि ठीकठाक छन् ? छैनन् । किनकी सामाजिक सञ्जालहरुमा शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गराएको भिडियो बयान अझै अनुत्तरित्त छन् । अरुका अप्रमाणित आरोपबारे टेलिभिजनबाट फोन लगाएर थर्काउथे रवि । उनै रविका सहयोगी पुडासैनीको ‘अन्तिम बयान’ मा भनिएझै रविलाई पोल्दैन होला र ?
खैर यो पनि नपोलोस । रविका उल्लेखित सबै कुरा बिर्सौ । अनि रवि जत्तिकै सामाजिक सञ्जालमा फूर्तीफार्ती भएका दुर्गा प्रसाइँले एउटा प्रश्न सोध्न कसैमार्फत रविलाई पैसा पठाएको घटना के गर्ने ? हुनसक्छ त्यो पनि आरोप मात्रै ।
यसलाई पनि बिर्सौ । अमेरिकी नागरिकता बोकेर नेपालमा बिना श्रमस्वीकृति रविले कसरी काम गरे ? प्रश्न उठेपछि अमेरिकी नागरिकता त्यागेको घोषणा गर्न आफ्नो ठाउँमा छ तर प्रश्न उठ्नुअघिको ‘गैरकानूनी काम’ घण्टी बजाएसँगै वैध हुने त होइन होला ।
लौ यो पनि छाडिदिउ । रविको मति जोडिएका आधा दर्जन आरोप छाडिदिएपनि ‘श्रीमती’ जोडिएका सवाल असरल्ल छदैछन् । यसलाई पनि वैयक्तिक पारिवारिक जीवन भनेरै मानिदिउ । यी सबै कुरा छाडेपछि रविको अस्तित्व के ? अवसरका लागि देश छाडेर हिडेको परदेशी वा ‘लाभका लागि’ देशको नागरिकतै त्यागेर पलायन भएको भगौडा ? ओहो दुनियाँलाई प्रश्न सोधेर, नाकको डाँडी भाँच्दिन्छु भनेर उदाएका रविबारे यत्तिधेरै प्रश्न गर्दा मेरो नाकको डाँडी कति सुरक्षित रहला ?
रविका मतिको कुरा त गरियो । गगनका गतिको पनि कुरा गरौं । गगनपनि प्रश्न गरेरै उदाएका हुन् । उनीपनि प्रश्नदेखि पर छैनन् । सामाजिक सञ्जालमा विगतमै उठाइएको ‘कृषि अनुदान’ बारेका प्रश्न गगन आफैले धेरैपटक उत्तर दिइसके । एकपटक त रवि आफैले पत्रकार सम्मेलन गरेर ‘खसीको विषयमा गगन निर्दोष छन्’ भनिसकेकै थिए । विद्यार्थीकालदेखि राजनीतिक गतिविधिमा सक्रिय गगन निरन्तर जनमतबाट खारिदै आएका छन् । त्रिचन्द्रमा स्ववियु सदस्यदेखि सभापति बन्दा होस् वा कांग्रेसमा क्षेत्रीय सभापतिदेखि केन्द्रीय महामन्त्री हुँदासम्म गगनका विचार र व्यक्तित्व परिमार्जित र अनुमोदित हुँदै आएका छन् । संविधानसभा सदस्यका रुपमा नेपालको संविधान निर्माणमा सक्रिय सभाषदका रुपमा उनले भूमिका खेलेकै थिए । स्वास्थ्यमन्त्रीका रुपमा छोटो समय अवसर पाउँदा गगनले थालेका स–साना सुधारका विषयले अझै गति लिएकै छन् । जतिबेला गगन गणतन्त्र जिन्दावाद भन्दै राजदरबार अगाडि गोली खान तयार भएर छाती तेर्साउँदै थिए त्यतिबेला सायद रवि पूर्व नेपाली नागरिकका रुपमा अमेरिकामा उनैले भनेजस्तो हन्ड्रेड थाउजेन्ड अर्थात महिनाको एक लाख डलर कमाउँदै थिए । तत्कालीन शाही सरकारले गगनलाई राजद्रोहको मुद्दा चलाएकै थियो । सामान्य कागज गर्दा छुटिहाल्थे । चिर्कटोमा हस्ताक्षर गरेर निगाहापूर्वक छुट्नुभन्दा जेलमै बसेर गणतन्त्र जिन्दावाद भन्नु उनले जायज सम्झिए ।
न राजाको मुद्दासँग डराए न विरोधीका फण्डासँग डराए । पार्टीभित्र होस् वा बाहिर, सत्तामा हुँदा होस् वा प्रतिपक्षमा , प्रभावमा रहँदा होस् वा अभावमा बितेको २ दशकदेखि गगन उस्तै देखिएका छन्, उस्तै सुनिएका छन् । गगनको गति निरन्तर छ । राजनीतिक चेतनासहितको गगन गतिको गन्तव्य जे होला त्यसले कम्तीमा मुलुकको अहित गर्दैन । तर रविको मतिले के होला ? लोकरिझ्याइँको राजनीतिबाट प्राप्त कुर्सीको तागतमा मिलाइएका मुद्दाहरु, लुकाइएका फाइलहरु अनि राज्यशक्ति दुरुपयोगबाट आर्जेको ‘निष्ठा’ले देशलाई गतिलो ठाउँमा पुर्याउदैन । आफूविरुद्धका आरोपमा छानबिनलाई बन्देज गराएर रविले लिन लागेको ‘क्लीन चिट’ ले रविलाई त टिकाउला तर वैकल्पिक राजनीतिप्रति विश्वास गरेकाहरुको भरोसालाई टिकाउन सक्दैन । सारमा भन्नुपर्छ रविको मतिले हिजोभन्दा ज्यादा अराजकता, हिजोभन्दा ज्यादा दण्डहीनता हिजोभन्दा ज्यादा निराशा फैलाउनेछ ।
आगे तपाईकै मर्जी, भन्नुहोस् गगनको गति ठीक कि रविको मति ठीक ?
© 2026 All right reserved to samajpress.com | Site By : Sobij