काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलकै सांसदले कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेसकै अर्थमन्त्री प्रकाशशरण महत र माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
महत अर्थमन्त्री नियुक्ति भएसँगै भ्रष्टाचार मौलाएको उनको आरोप छ। पछिल्लो समय सुन प्रकरणलाई जोड्दै उनले नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा पनि माग गरे।
‘सुन काण्डका विषयमा हाम्रा पनि कुरा छन् म राख्दैछु। चैतको १७ गते अर्थमन्त्री शपथ खानु भो। त्यसपछि घटना वैशाख २० गते अर्थसचिव परिवर्तन गरियो। जेठ १७ गते भन्सार कार्यालयको प्रमुखको सरुवा भयो अहिले क्वीन्टलका क्वीन्टल सुन छिरेको छ’ शर्माले भने।
उनले गृहमन्त्री र अर्थमन्त्रीले यो प्रकरणबारे प्रष्ट नपार्नु नै उनीहरूले पदमा बस्ने आधार गुमाइसकेको पनि बताए। ‘यो देशको अर्थमन्त्री र गृहमन्त्रीले यो थाहा छैन भन्ने हो भने पदमा बस्ने नैतिक आधार गुमाइसक्नु भएको छ’उनले भने।
उनले विगतमा आफ्नो खातामा डलर आएको पाइएपछि तत्कालीन अर्थमन्त्री रामशरण महतले पदबाट राजीनामा दिएको उनले उदाहरण दिए। मन्त्रीहरूले सुनको मालिक पक्राउ नगरे आफूले आमरण अनसन बस्ने पनि बताए।
‘उहाँहरूले सुनकै मालिक पक्रियौँ भन्नुपर्यो। यति दिनसम्म मुख्य नाइके पक्राउ गर्छौँ भन्नु पर्यो। मुख्य मालिक पक्राउ नहुँदासम्म अनुसन्धानका लागि पदबाट राजीनामा दिनुपर्छ। यो विषय पक्ष र प्रतिपक्षको होइनँ। नेपाली जनताको कुरा हो,’ उनले भने, ‘नेताहरू काठमाडौँमा बसेर अरबौँ रुपैयाँको सुन तस्करलाई पक्राउ गर्न नसक्नुको दोषीको भागीदार हामी पनि हुन्छौँ। गाउँको भरियालाई कस्टडीलाई जेलमा राखेर हुँदैन। प्रधानमन्त्री आएपछि म यो कुरा राख्छु त्यसपछि पनि मुख्य मालिक पक्राउ नपरे म आमरण अनसनको घोषणा गर्छु।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij