पोखरा । गण्डकी ट्याक्सी व्यवसाय प्रा.लि.सँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरुले प्रभु बैंकमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्ने भएका छन् ।
विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य गेट-वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायी सहमत भएका हुन् ।
पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरू समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
३ सय ५० भन्दा बढी चालकहरूलाई उपलब्ध गराइने योजना
विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराइएको क्यु आर मार्फत् विना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १ सय ५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३ सय ५० भन्दा बढी चालकहरूलाई उपलब्ध गराइने योजना रहेको छ ।
उक्त सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानामगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रा.लि.को तर्फबाट अध्यक्ष गान्धीराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुरुवात गरेका छन् ।
कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरूका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरू सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामूलक सामाग्री प्रस्तुत गरिएको थियो । कार्यक्रममा फोन-पे को तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij