काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गरी महानगरले महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो ।
महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम नियम विपरीत देखिएकोले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ । सात दिनभित्र मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने महानरले चेतावनी दिएको छ ।
शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij