२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

चलचित्रकर्मीको समस्यालाई समाधान गरेर मात्र बोर्डबाट बिदा हुन्छुः अध्यक्ष केसी

चलचित्रकर्मीको समस्यालाई समाधान गरेर मात्र बोर्डबाट बिदा हुन्छुः अध्यक्ष केसी

 

काठमाडौँ ।  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल सञ्चालकलाई समयमै कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

चलचित्र भवन सञ्चालक, प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र सङ्घको ४९औँ साधारणसभामा अध्यक्ष केसीले केही प्रदर्शकले कर नतिरेको गुनासो गरे ।

उनले भने, “अहिले एकल चलचित्र भवनलाई सहयोग गर्ने हाम्रो तयारी छ । आगामी आर्थिक वर्षमा हामीले उहाँहरूलाई महसुस हुने गरी सहयोग गर्नेछौँ ।”

उनले आफू चलचित्रकर्मबाटै बोर्डको नेतृत्वमा पुगेकाले चलचित्रकर्मीको समस्यालाई समाधान गरेर मात्र बिदा हुने बताए ।  । उक्त अवसरमा विभिन्न ११ विधामा क्रियाशील चलचित्रकर्मीलाई सम्मान पनि गरिएको थियो ।

भूपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मानबाट निर्देशक ज्ञानेन्द्र देउजा, द्वारिकाप्रसाद उदय शिवशङ्कर मानन्धर स्मृति अभिनेता सम्मानबाट अभिनेता शिव श्रेष्ठ, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मानबाट अभिनेत्री गौरी मल्ल, भुवनेश्वर अमात्य नारायण गोपाल स्मृति सङ्गीत सम्मानबाट गायिका देविका बन्दनालाई सम्मान गरियो ।

साथै शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकार सम्मानबाट पत्रकार विदुर गिरी, हरिबहादुर हिरादेवी श्रेष्ठ डायमण्ड शमशेर राणा स्मृति लेखन सम्मानबाट लेखक मौनता श्रेष्ठ, हरिप्रसाद द्वा भगवान् दास स्मृति निर्माता सम्मानबाट निर्माता छविराज ओझा, क्वेष्ट इन्टरटेनमेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट सम्पादक नरेन्द्र खड्का पनि सम्मानित भए ।

त्यसैगरी मैयादेवी प्रधान गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, नन्दबहादुर महर्जन वीरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मानबाट प्रदर्शक तीर्थ थापा, राजविर कायस्थ बैकुण्ठ मास्के स्मृति छायाँकार सम्मानबाट छायाँकार मञ्जुकुमार श्रेष्ठ सम्मानित हुनुभयो । उहाँहरूलाई सम्मान पत्रसहित जनही नगद राशि १५ हजार पाँच सय ५५ प्रदान गरियो ।

चलचित्र सङ्घका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले सरकारले करलगायतका विषयमा सहुलियत प्रदान गरेर प्रोत्साहन गर्न जरुरी रहेको धारणा राखे । “कोरोना सङ्क्रमण र त्यसपछिको अवस्थामा हामीलाई पनि सहजता छैन । प्रदर्शकको हौसला बढाउन हामीलाई उपयुक्त नीति चाहिएको छ”, अध्यक्ष श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij