काठमाडौँ- वैशाख ७ गते काठमाडौंको कपनमा भएको निरु पाण्डे हत्याका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीले शुक्रबार हत्या आरोपि विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन्।
विनोदविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आजिवन कैदको माग गर्दै बुधबार अभियोग दायर गरेको थियो। विनोदले हत्यापछि निरुको सिक्रि लुटेका थिए। त्यो सिक्रि लगेर उनले बालाजुको एक सुनचाँदी पसलमा विक्रि गरेका थिए।
उक्त सिक्रि किन्ने सुनचाँदी पसल सञ्चालक प्रदिप गदाइलीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ। घटनाको ९ दिनपछि प्रहरीले विनोदलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। निरु आफ्नै भाँडा पसलमा रहेको अवस्थामा विनोदले ग्राहकको बहनामा पसेर हत्या गरेका थिए। सुरुमा आफ्नो लुट्ने मात्रै योजना रहेपनि लुटपाटका क्रममा निरुले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन्।
उनले निरुको शरीरमा चक्कु प्रहार गरेर हत्या गरेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij