२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

सरकारले नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने

सरकारले नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने

 

काठमाडौँ ।  सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले मंगलबार प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ ।

“नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियहितको रक्षालाई केन्द्रबिन्दुमा राख्नेछ”, सरकारको योजनामा भनिएको छ, “ संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, विश्वशान्तिका मान्यता, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा न्यायमा आधारित स्वतन्त्र, तटस्थ र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नेछ ।”

विदेश सम्बन्ध सञ्चालनमा सार्वभौम समानता, पारस्परिकहित र सम्मानलाई केन्द्रबिन्दुमा राखी दुवै छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सन्तुलित, विश्वसनीय र मैत्रीपूर्ण सम्बन्ध सञ्चालन गर्ने, नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप सुदृढ बनाउनेसमेत सत्तारुढ दलको योनजामा रहेको छ ।

“सीमाको प्रभावकारी व्यवस्थापन गर्ने, नेपालको हित संरक्षण र प्रवद्र्धन हुनेगरी विद्यमान सन्धि–सम्झौताको पुनरावलोकन गर्नेछ”, सरकारको योनजामा भनिएको छ,  “आवश्यकताअनुसार नयाँ सन्धि–सम्झौता गर्ने, द्विपक्षीय तथा बहुपक्षीय संस्थामा आबद्धता वृद्धि गर्ने, राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय एवं रणनीतिक पूर्वाधारलगायत राष्ट्रका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माणका लागि प्रयास गर्ने, नागरिकता वितरणको कार्यलाई सहज बनाउने रहेको छ ।” साथै सरकारले गैरआवासीय नेपालीको सीप, पुँजी राष्ट्रहितमा प्रयोग गर्दै उनीहरुको जायज चासोको सम्बोधन गर्ने रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij