२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

काठमाडौंमा दुई लाख भन्दाबढीले लगाए  रुबेला–दादुराविरुद्धको खोप 

काठमाडौंमा दुई लाख भन्दाबढीले लगाए  रुबेला–दादुराविरुद्धको खोप 

 

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् ।

३२ वटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको कामपाले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ मा कार्यक्रम सञ्चालन भएको थियो । दोस्रो चरणमा वडा नं ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको कामपले जनाएको छ ।

यही चैत २ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दुई लाख बढी बालबालिकाले खोप लगाएका कामपाको खोप शाखाका सम्पर्क व्यक्ति मैयाँ सँैजुले जानकारी दिइन् ।

कामपाका अनुसार स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका दुई लाख ३६ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि विद्यालयबाहिर रहेका केही बालबालिका नआएकाले लक्ष्यअनुरुप खोप लगाउन नसकिएको सैँजुले बताइन् ।

 

रुबेला–दादुराविरुद्धको खोप शिशु जन्मेको नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप दिइरहे पनि सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएकाले अभियानका रुपमा विभिन्न रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको सम्पर्क व्यक्ति सैँजुले बताइन् ।

आर्थिक वर्ष २०७२/७३ र २०७६/७७ मा पनि यो अभियान चलाइएको थियो । २०७६÷७७ मा ८४ प्रतिशतमा खोपको पहुँच पुगेको थियो । यससँगै नेपालमा फैलिएको कोरोना महामारीका कारण अभियान प्रभावित बनेको थियो ।  सरकारले नेपालले २०२६ सम्ममा रुबेला–दादुरा निवारण गर्ने प्रतिबद्धता गरेको छ ।

कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा उनीहरुले एकवर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्नेछ ।

“तालिकाअनुसार जन्मेदेखि एकवर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक मात्रा, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट, हेपाटाइटिस बी तीन मात्रा, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पोलियो र नौ महिना पूरा भएपछि रुवेला दादुराको खोप एक मात्रा दिनुपर्ने हुन्छ”, सम्पर्क व्यक्ति सैँजुले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij