२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

हिमाली जिल्ला रसुवामा भेटिए डेंगुका बिरामी

हिमाली जिल्ला रसुवामा भेटिए डेंगुका बिरामी

रसुवा– उत्तरी रसुवाको भू-भागमा डेंगुका बिरामी फेला परेको छ। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइराखेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले एकजना डेंगुका बिरामीलाई अस्पतालको अन्तरंग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए।

समुद्र सतहदेखि २ हजार मिटरको उचाइमा डेंगु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध गरेको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेंगु सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्योदयपछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्ने बताए।

घर आँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरेर र पानीका भाडा छोपेर राख्न उनले आग्रह गरे।

यस्तै धुञ्चेस्थित जिल्ला अस्पतालले आइतबारदेखि थप व्यवस्थित गर्दै ओपीडी सेवा सञ्चालनमा ल्याएको छ।

अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपीडी सेवा सञ्चालनमा ल्याएको हो। सो ओपीडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरे।

अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौँ रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ। यसबाट विशेषगरी प्रसुती सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij