काठमाडौँ- आज (सोमबार) देखि वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आजदेखि बुधबारसम्म देशभर मौसम बदली (बादल) र वर्षा बढ्ने सम्भावना देखिएको हो।
अहिले बिहान पनि कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको उनले बताइन्।
बागमतीअन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको जानकारी उनले दिइन्। ‘विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आजसमेत ३ दिन (बुधबारसम्म) सबै प्रदेशमा वर्षा हुनेछ।
त्यसअन्तर्गत आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij