२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

माओवादीमा प्रदेश इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर

माओवादीमा प्रदेश इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी हेरफेर

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)ले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो ।

माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।

गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सहइन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सहइन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सहइन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले प्रवास प्रदेश समिति (मध्यपूर्व) इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ ।

केही प्रदेशको सहइन्चार्ज तोक्न बाँकी रहेको उनले बताए । बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ ।

कार्यविभाजनलाई लिएर माओवादीका उपमहासचिव जनार्दन शर्माले असहमति प्रकट गरेका छन् ।    यसअघि बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा, उपत्यकाका इन्चार्ज वर्षमान पुन, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल लगायतलाई जिम्मेवारीविहीन बनाइएको छ । नेताहरुको कार्य विभाजनप्रति माओवादी नेता जनार्दन शर्माले असहमति जनाएका छन् । उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका हुन् ।

बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेस तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ । समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिनपछि सारिएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले हिमाल, पहाड, मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा मिटरब्याजी, लघुवित्त समस्याका बारेमा वार्ता भइरहेकाले त्यसलाई सार्थक निष्कर्षमा पुरयाउन सरकारको ध्यानाकर्षण गराएको छ । साथै दुग्ध किसानलगायत समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij