२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आफैँले बहसमा ल्याएको समाजवादी मोर्चामा किन सहभागी भएनन् बाबुराम?

आफैँले बहसमा ल्याएको समाजवादी मोर्चामा किन सहभागी भएनन् बाबुराम?

काठमाडौँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दलको ‘समाजवादी मोर्चा’ सत्ता प्राप्तिका लागि मात्र बनेको आरोप लगाउँदै सोही कारण आफ्नो पार्टी त्यसमा संलग्न नभएको दाबी गरेका छन्।

घोषित मोर्चा नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएको आरोप डा. भट्टराईले लगाएका छन्। यसैकारण आफू त्यसमा नमिसिएको जिकिर उनले गरेका छन्।

समाजवादी मोर्चाको प्रस्तावना आफूले नै अघि सारेको भए पनि सत्ता लिप्साका कारण आफूहरूसँग कुनै सल्लाह नै नगरी रहस्यमय ढंगले मोर्चा घोषणा गरिएको आरोप पनि उनले लगाएका छन्।

‘…पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक/राजनीतिक विषयप्रतिको अरुचि÷अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरूप हामीसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’को एकतर्फी घोषणा हुनपुग्यो’, डा. भट्टराईले भनेका छन्, ‘नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन। किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो।’

धेरै शुभेच्छुक विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईं पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहेकाले आफ्नो दृष्टिकोण सार्वजनिक गरेको डा. भट्टराईले बताएका छन्।

उनले भनेका छन्, ‘जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ, हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij