काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि कारबाही गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले मन्त्रीलाई कारबाही नगरी उन्मुक्ति दिए रास्वपा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले प्रमाण हुँदा पनि कारबाही नगर्दा सुशासन नरहेको सन्देश गएको बताए ।
उनले दुई युवाको मृत्यु भएको घटनामा प्रतिवेदनले दोषी देखाएका मन्त्रीलाई के गर्ने भन्ने जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका छन् । पुस १३ गते बालकुमारीमा कोरियन भाषा परीक्षा दिने युवाहरू र प्रहरीबीच झडप हुँदा दुई जना को मृत्यु भएको थियो । मन्त्रीको संलग्नता र उपस्थितका कारण घटना भएको भन्ने प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको छ ।
त्यसैगरी सभापति लामिछानेले सरकार आफ्ना आसेपासेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको आरोप लगाए । उनले यसको पुष्टि ललिता निवास, भुटानी शरणार्थी प्रकरणबाट देखिएको बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij