२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बाँदरलाई आहारा खुवाएपछि नेकपा एसका नेता उप्रेतीलाई सम्मान

बाँदरलाई आहारा खुवाएपछि नेकपा एसका नेता उप्रेतीलाई सम्मान

काठमाडौँ- लायन्स अन्तर्राष्ट्रियको सप्ताहव्यापी सामाजिक सेवा कार्यक्रमअन्तर्गत सर्लाहीको हरिवनस्थित लायन्स क्लब काठमाडौं-सर्लाहीले तीनवटा कार्यक्रम सम्पन्न गरेको छ।

यस अवसरमा बाँदरलाई आहारा खुवाउने तथा वन्यजन्तु संरक्षणमा योगदान गर्नेलाई सम्मान, गुम्बा सफाई र पिउने पानी वितरण गरिएको क्लबका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए।

सर्लाहीका मूर्तिया जंगलमा बाँदरलाई आहारा खुवाउनुका साथै वन्यजन्तुलाई माया गर्ने र पटकपटक खाना खुवाउने पूर्वप्रदेश सांसद तथा नेकपा एकीकृत समाजवादीका नेता डिल्लीप्रसाद उप्रेती, हरिवन उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र व्यवसायी शिवकृष्ण महाजुलाई प्रंशसा पत्रसहित सम्मान गरिएको क्लबले जनाएको छ।

पूर्व रक्षामन्त्री एवं प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेतीले एक कार्यक्रमका बीच शनिबार उनीहरुलाई सम्मान गरेका हुन्।

कार्यक्रममा बोल्दै उप्रेतीले बाँदरसहित वन्यजन्तु संरक्षण गर्ने कार्यले पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न बताए। यस क्रममा उनले कार्यक्रमको महत्त्व नै नबुझी बाँदरलाई आहारा खुवाउनेलाई सम्मान गरेछन् भनेर खिसीट्युरी नगर्नसमेत अनुरोध गरे।

कार्यक्रममा पूर्वप्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले आफूले अहिलेसम्म बाँदरहरुलाई करिब १ लाख बराबरको आहारा खुवाएको जानकारी दिए।

कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानसहित क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो।

एक वर्षअघि हरिवनमा स्थापना भएको क्लबले विभिन्न रचनात्मक काम गरिरहेको छ।

यसबीच क्लबले बागमती नगरपालिकाको धरहरामा रहेको ज्याङछुक छोइलिङ गुम्बामा सरसफाइ गरेको छ। क्लबले नयाँरोडमा यात्रुवाहक सवारीसाधनमा पिउने पानी वितरण पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij