२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो…

जब ‘झरनाको चिसो पानी’ गुञ्जियो…

झरनाको चिसो पानी
सुकेर जाँदैन, रोकेर रोकिँदैन-२,
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी
झरनाको चिसो पानी।।

बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन (माघ ३ गते) सहारा खेल मैदानमा दर्शक भरिभराउ थिए। यसै गीतमार्फत गायक जीवन शर्माले आफ्नो प्रस्तुति सुरु गरे।

शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन्।बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभीरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गरेकाे बताए।

बुधबार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उनले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ।‘घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी। श्रीमान् नियालमारे खोलापारी पुगेका थिए। श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन्।असिनपसिन भएका जाेडी ठूलो भारी बोकेर खेताला भीरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाएँ’, शर्माले भने।

२०५० सालतिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेतालाकाे भरमा घर छाउने, ढुङ्गा बोक्ने प्रचलन थियो। कैयौँ मजदुरहरु यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे। त्यही देखेका शर्माले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाए।

महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाए। मैदानमा उपस्थित अधिकांश दर्शक उहाँका गीतमा झुमे। शर्मालाई उनकी पत्नि निलिमा पुनले साथ दिइन्। जीवन र जगतका जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिने गरेका छन्।

‘उहाँका गीत कहिलै पुराना भएनन्। सधैँ सुनौँ, सुनौ लाग्छन्।’ महाेत्सवमा आएका स्थानीय हेमलाल शर्माले भने। ‘उहाँका गीतले जहिले जनताको दुःख बोल्यो। जसको परिणाम अहिले उहाँ जनवादी गायकको परिचयले बाँच्नुभएको छ। सांगीतिक यात्राको पहिलो खुड्किलो उहाँको बाँसुरी हो। वनजंगलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उहाँले बाँसुरीको धुन राम्रोसँग निकाल्नुहुन्थ्यो।’

शर्माको पहिलो गीति एल्बम सांगीतिक यात्रा रक्तिम भाग–१ हो। त्यसयता उनले दुई हजार बढी गीत जनताकै पक्षमा गाइसकेका छन्। मेला महोत्सव हुन वा अन्य कुनै सांगीतिक कार्यक्रम शर्माका गीतले तताउँछन्। शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाएका छन्। ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत लोकप्रिय छन्।

‘मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ’, शर्माले भने। ‘समयसँग सम्झौता होइन, सङ्घर्ष गर सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन्।’

‘सिमली छायाँ’ गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ। शर्मा अहिले पनि संगीत साधनामै छन्। परिवर्तनका लागि संगीत उपयुक्त माध्यम भएको भन्दै लागिरहेका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देख्छन्।

जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र सांगीतिक बजारमा जीवन शर्माका नामले परिचित छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij