२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि सहयोग गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि सहयोग गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता

 

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन मन्त्रालय तयार रहेको बताएका छन् ।

आइतबार अस्पतालको ६२ औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले अस्पताललाई राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थाका रुपमा निर्माण गर्न शहरी विकास मन्त्रालयसँग तत्काल छलफल सुरु गर्ने बताए ।

मन्त्री बस्नेतले एक हजार शय्या क्षमतासहितको उक्त अध्ययन संस्थानका लागि आवश्यक पर्ने भवन निर्माणको तयारी गरिने विश्वास दिलाए ।

समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले सातै प्रदेशमा प्रदेशस्तरीय बाल अस्पतालको सञ्चालन गर्न आवश्यक भएको बताए । उनले कान्ति बाल अस्पतालमा शय्या थप्दैमा सेवाग्राहीले सहज रुपमा उपचार सेवा पाउन नसक्ने भन्दै सेवा विकेन्द्रीकरण गर्न सुझाव दिए ।

अस्पतालका निर्देशक डा पङ्कज रायले पर्याप्त जनशक्ति र शय्याको अभावबारे मन्त्रीको ध्यानाकर्षण गराए । “उपचार सेवा लिन आउनुभएका धेरै बिरामीले लामो समयसम्म कुर्नुपर्ने बाध्यता छ, अस्पताल आउने सबैलाई शय्या पुर्याउन हम्मेहम्मे छ”, डा रायले भने, “एक चिकित्सकले पाँच चिकित्सक र एक नर्सले पाँच नर्सको काम गर्नुपर्ने अवस्था छ ।”

वार्षिकोेत्सव समारोहमा मन्त्री बस्नेतले अस्पताललाई जापान सरकारबाट प्राप्त एमआरआई र सिटी मेसिन जडानको उदटन गरे ।

निर्देशक रायका अनुसार आर्थिक वर्ष २०७९/८० मा अस्पतालबाट एक लाख ९९ हजार दुई सय ५६ जना बालबालिकाले उपचार सेवा लिएका छन् ।  दुई हजार आठ सय ४२ जनाले शल्यक्रिया उपचार सेवा लिएका छन् । ६२ वर्षअघि ५० शय्याबाट सुरु भएको अस्पतालले पछिल्लो समय तीन सय ५२ शय्याबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ । अस्पताल विकास समितिकोतर्फ स्वीकृत दरबन्दी दुई सय ७५ जना रहेको छ ।

अस्पतालका निर्देशक डा रायले सातै प्रदेशका बालबालिकाको ‘रिफरल’ अस्पतालका रुपमा विकास गर्ने, बाल स्वास्थ्यका सबै विशिष्टीकृत सेवा उपलब्ध गराउने र बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij