२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

झापाको विर्तामोडमा ट्रमा अस्पताल संचालनमा

झापाको विर्तामोडमा ट्रमा अस्पताल संचालनमा

 

झापा । ‘हस्पिटल हब’ बनिरहेको विर्तामोडमा मेरुदण्डको विशेष उपचार हुने स्पाइनेक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर थपिएको छ । विर्तामोड–३ भगवान्चोकमा स्थापना भएको १५ शय्याको  अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रेमबहादुर शाहीले मेरुदण्ड (स्पाइन)सम्बन्धी उपचार गर्ने नेपालकै पहिलो ट्रमा सेन्टर भएको जानकारी दिए ।

अस्पतालमा  ३० करोडको प्रारम्भिक लगानी रहेको जनाउँदै उनले यहाँ हाडजोर्नी, नशा तथा मेरुदण्डसम्बन्धी सबै विशेषज्ञ उपचार सेवा प्रदान गरिने र एक वर्षपछि यसलाई विस्तार गरेर एक सय शय्याको बनाइने जानकारी दिए ।

सडक दुर्घटना हुँदा हाडजोर्नीको क्षतिदर उच्च हुने र त्यसको तत्काल विशेषज्ञ उपचार सेवा उपलब्ध भएमा जीवन बचाउन सकिने सम्भावना भएकाले सुपरस्पेसलिटी अस्पतालको आवश्यकता भएको उनले बताए । अस्पतालमा गुणस्तरीय र सर्वसाधारणको सहज पहुँच पुग्नेगरी सुलभ उपचार सेवा दिइने बताइएको छ ।

अस्पतालका मेरुदण्ड विशेषज्ञ डा गौरव ढकालले हाडजोर्नी तथा मेरुदण्डको उपचारका लागि अब भारत धाउनु नपर्ने सुनाए । अस्पतालले कि–होल सर्जरी, जोर्नी प्रत्यारोपण, कम्प्लेक्स ट्रमा सर्जरी, बोन बायोप्सी, छिनेको हातखुट्टा जोड्ने उपचार, सिटीस्क्यान, अत्याधुनिक ल्याब, क्याबिनसहितको डे–केयर सर्जिकल मेडिकल वार्ड लगायतको उपचार सेवा तथा सुविधा प्रदान गर्ने भएको छ ।

झापाको विर्तामोडमा यसअघि निजी क्षेत्रबाट स्थापना भएका एक दर्जन सुविधासम्पन्न अस्पताल सञ्चालनमा रहेका छन् । बिएन्डसी टिचिङ हस्पिटल, पूर्णटुंग बिर्तासिटी हस्पिटल, मनमोहन सामुदायिक अस्पताल, कनकाइ अस्पताल, कञ्चनजङ्घा अस्पताल, सञ्जीवनी अस्पताल, मेची आँखा अस्पताल, विर्ता आँखा अस्पताल, दृष्टि आँखा अस्पताललगायतका अस्पतालले झापा जिल्लामात्र नभएर कोशी प्रदेशका विभिन्न पहाडी जिल्ला र भारतबाट आउने बिरामीको आधुनिक प्रविधियुक्त चिकित्सा सेवा प्रदान गरिरहेका छन् ।

विर्तामोडमा निजी क्षेत्रबाटै कोशी प्रदेशकै पहिलो क्यान्सर अस्पताल पनि सञ्चालनमा रहेको छ । यहाँको पूर्वाञ्चल क्यान्सर अस्पतालले मुलुकभरका क्यान्सर बिरामीलाई अत्याधुनिक उपचार सेवा प्रदान गरिरहेको छ ।

एक दशकअघिसम्म पूर्वी नेपालका अधिकांश बिरामी विशेषज्ञ उपचार सेवा लिनका लागि भारतको सिलिगुढी, दिल्ली, पटना, कोलकाता र मुम्बइ जाने गर्दथे । अत्याधुनिक सुविधायुक्त अस्पताल नेपालमै सञ्चालनमा आएपछि भारतमा उपचारका लागि जाने प्रचलन अहिले हटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij