२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सरकार र बालकुमारी प्रदर्शनमा मारिएकाका आफन्तबीच चार बुँदे सहमति

सरकार र बालकुमारी प्रदर्शनमा मारिएकाका आफन्तबीच चार बुँदे सहमति

काठमाडौं । बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार तथा आफन्त र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच सोमबार गृह मन्त्रालयमा भेट भएको छ ।

मन्त्रिपरिषद बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाएको र गृहमन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कार्वाही गरिने प्रतिबद्धता जाहेर गरेको परिस्थितिबीच भेटघाट भएको हो ।

भेटमा मृतकहरूको गृह जिल्ला दैलेख र अछामका तथा आसपास जिल्लाका सांसद एवम् जनप्रतिनिधिसहित गृहमन्त्रालय आएका आफन्तलाई गृहमन्त्री श्रेष्ठले न्याय दिलाएरै छाडिनेमा आश्वस्त बनाएका छन् ।

त्यससँगै मृतकका परिवार र गृह मन्त्रालयबीच चारबुँदे लिखित सहमति समेत भएको छ। मृतकका परिवारका तर्फबाट अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गरेको सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहबर बसेका छन् ।
चारबुँदे सहमति यस्तो छः
१) मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने।
२) सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने।
३) मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने।
४) मृतकका परिवारले आजै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij