२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

बालकुमारी घटनामा मन्त्री ज्वालाबाट लापरबाही भएको छ : महामन्त्री थापा

बालकुमारी घटनामा मन्त्री ज्वालाबाट लापरबाही भएको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माइतीघरको निषेधित क्षेत्र हटाउन सरकारलाई सुझाव दिएका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निषेधित क्षेत्र हटाउन सुझाव दिएका हुन् ।

महामन्त्री थापाले आफ्नो आवाज सरकारलाई सुनाउन माइतीघर पुगेकाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि निषेधित क्षेत्र तुरुन्त हटाउन आग्रह गरेका हुन् । उनले भने, ‘आज धोती जुलुस भयो। यो पोलिटिकल स्टेटमेन्ट हो नि। त्यहाँ मान्छेहरूले केहीले टोपी दिवस मनाउछौं भनेर आउनुभयो। यो राइट सबैसँग छ। माइतीघरमा आएर उहाँले देखाउनु खोज्नु भयो कि यहाँ माइतीघरले सरकारलाई सुन्छ। यसको कुनै औचित्य छैन। यसकारण यो निर्णय तत्काल पुनरविचार गर्नुहोस् । प्रदर्शन गर्न दिनुहोस्।’

सोमबार बिहान धोती दिवसको अवसरमा आयोजित र्यालीमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेता कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरी माइतीघरबाट पक्राउ गरेको थियो ।

बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताए । उनले आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको बताए । उनले समितिले मन्त्रीको लापरवाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने बताए । उनले साउनदेखिको इपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापरवाही भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij