पोखरा । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकीको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।
उनले भने, ‘युवाहरूको भविष्य यही देशमा सुरक्षित छ र उनीहरूका सन्ततिको भविष्य यही देशमा उज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु । हाम्रो जिम्मेवारी यही नै हो । यो संकल्प पुरा गर्न सकेनौं भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’
बेरोजगार मात्र नभइ राम्रो रोजगारीमा रहेका युवाहरू पनि धमाधम विदेश पलायन हुनु ठूलो चिन्ताको विषय भएको उनले बताए । ‘हामीले उनीहरू र उनीहरूका सन्ततिको भविष्य यही देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्नुपर्छ । ’
मुलुकको आर्थिक सुधारको नेतृत्व विगतमा कांग्रेसले लिएको स्मरण गराउदै उनले अब फेरि दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको जिकिर गरे आगामी निर्वाचनमा कम्तिमा २५ लाख युवाहरू पहिलोपटक मतदाताका रुपमा अघि आउने भएकाले उनीहरु निर्णायक हुने नेता चौधरीले बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij