बीबीसी । अमेरिकाको मिसिसिपी राज्यबाट डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोम अमेरिकी सिनेटमा निर्वाचित भएका छन् । दशकौँदेखि रिपब्लिकन पार्टीको प्रभाव रहँदै आएको परम्परागत रूपमा रूढिवादी राज्यमा कोलोमले अप्रत्याशित जित हासिल गरेका हुन् ।
४३ वर्षीय कोलोमको जितसँगै मिसिसिपीबाट १४० वर्षभन्दा लामो समयपछि अमेरिकी सिनेटमा निर्वाचित हुने उनी पहिलो अश्वेत व्यक्ति बनेका छन् ।
उनले रिपब्लिकन पार्टीकी वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो मतान्तरले पराजित गरेका हुन् । झन्डै १० लाख मत गणना हुँदा दुवै उम्मेदवारबीच पाँच हजारभन्दा कम मतको अन्तर रहेको थियो ।
सीबीएसका अनुसार कोलोमले ४९.२ प्रतिशत मत प्राप्त गर्दा हाइड–स्मिथले ४८.७ प्रतिशत मत पाएकी छन् । स्वतन्त्र उम्मेदवारले २.१ प्रतिशत मत प्राप्त गरेका छन् ।
पराजय स्वीकार गर्दै हाइड–स्मिथले बुधबार साँझ सामाजिक सञ्जाल एक्समार्फत कोलोमलाई बधाई दिएकी छन् । उनले चुनावी परिणाम आफ्नो अपेक्षाअनुसार नभए पनि मिसिसिपीका मतदाताको निर्णयको सम्मान गर्ने बताएकी छन् ।
कोलोमले टुगालु कलेज परिसरमा आयोजित विजयसभामा समर्थकहरूलाई सम्बोधन गरेका थिए । नोभेम्बर ४ मा मतदान सम्पन्न भएदेखि नतिजाको प्रतीक्षामा रहेका सयौँ समर्थक उनको जितपछि खुसीयाली मनाउन भेला भएका थिए ।
‘उनीहरूले यस्तो क्षण सम्भव छ भन्ने विश्वास गरेका थिएनन्, तर मैले आफ्नो विश्वास कायम राखेँ,’ कोलोमले भने । उनले आफ्नो जित व्यक्तिगत उपलब्धि नभई सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै मिसिसिपीमा स्थानीय नागरिकले नै परिवर्तन ल्याउने बताए ।
एनएएसीपी बोर्डका अध्यक्ष लियोन रसेलले यसलाई ऐतिहासिक परिणाम भन्दै अश्वेत समुदायको संगठित प्रयासबाट सफलता सम्भव भएको बताए ।
उनका अनुसार चुनावी अभियानमा ठूलो आर्थिक स्रोत नभए पनि समुदायको संगठन र सक्रिय परिचालनले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
विजयको खुसीमा सहभागी एम्बर थोमसले ‘संघर्ष गर्दा जित हासिल हुन्छ’ भन्दै आफ्नो खुसी व्यक्त गरेकी थिइन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij