२०८३ कार्तिक २६ बुधबार

Nov 11 2026 Wednesday

२०८३ कार्तिक २६ बुधबार

भाइटीकाको उल्लासमा प्रधानमन्त्रीको शुभकामना

भाइटीकाको उल्लासमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री बालेन साहले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

यमपञ्चकको अन्तिम दिन भाइटीकाका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयता अझ प्रगाढ बनोस् भन्ने कामना गरेका हुन् ।

उनले पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमराज बहिनी यमुनाको निमन्त्रणामा उनको निवास पुगेको र यमुनाले विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेको प्रसङ्ग उल्लेख गरेका छन् ।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको उनले बताएका छन् ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने र सप्तरङ्गी टीका लगाउने परम्परा रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

त्यस्तै, दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने चलन रहेको उनले बताएका छन् ।
भाइटीकाले पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij