अन्ताल्या । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको पेभिलियन उद्घाटन गरेका छन् ।
सोमबार अन्ताल्यामा पेभिलियन उद्घाटन गर्दै मन्त्री खनालले नेपालको जलवायुसम्बन्धी प्रतिबद्धता, जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा भइरहेका जलवायु अनुकूलनका प्रयासलाई पेभिलियनले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने बताए ।
समारोहलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणाली गम्भीर जोखिममा परेको उल्लेख गरे । हिमनदी तथा हिमक्षेत्रमा बढ्दै गएका जोखिमप्रति विश्वको ध्यानाकर्षण गराउँदै उनले हालै भोटेकोसीमा आएको विनाशकारी विपत्तिलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिए ।
नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमान रूपमा बढी जोखिम बेहोर्नुपरेको उल्लेख गर्दै उनले जलवायु न्याय सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
मन्त्री खनालले हानि तथा नोक्सानीसम्बन्धी कोषमा सहज पहुँच र प्रभावकारी अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता औँल्याए । हिमाली क्षेत्रको उत्थानशीलता बढाउन तथा तल्लो तटीय क्षेत्रको सुरक्षा सुनिश्चित गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij