काठमाडौँ । यमपञ्चकको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ ।
गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ । धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ ।
नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाईपूजा गरिन्छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij