२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

सैनिक सहरमै ट्रम्प समर्थक रिपब्लिकन उम्मेदवार पराजित

सैनिक सहरमै ट्रम्प समर्थक रिपब्लिकन उम्मेदवार पराजित

कोलोराडो । अमेरिकाको कोलोराडो राज्यस्थित सैनिक बाहुल्य सहर कोलोराडो स्प्रिङ्सबाट पहिलोपटक डेमोक्रेटिक पार्टीकी उम्मेदवार अमेरिकी प्रतिनिधिसभामा निर्वाचित भएकी छन् ।

सन् १९७० मा निर्वाचन क्षेत्र स्थापना भएयता लगातार रिपब्लिकन उम्मेदवार विजयी हुँदै आएको यस क्षेत्रमा सन् २०२६ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जेसिका किलिनले ऐतिहासिक जित हासिल गरेकी हुन् । उनले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सांसद जेफ क्र्याङ्कलाई पराजित गरेकी हुन् ।

पूर्व अमेरिकी सैनिक किलिनको जितलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिप्रति मतदाताको बढ्दो असन्तुष्टिको परिणामका रूपमा हेरिएको छ । इरान युद्ध, भन्सार शुल्क, महँगी र जेफ्री एपस्टिन प्रकरण चुनावी अभियानका प्रमुख मुद्दा बनेका थिए ।

पाँचवटा सैनिक प्रतिष्ठान रहेको यस क्षेत्रमा पूर्वसैनिक, कार्यरत सैनिक र उनीहरूका परिवारको जनसङ्ख्या करिब एकतिहाइ छ । इरान युद्धमा फोर्ट कार्सन सैनिक अखडाबाट खटिएका एक अमेरिकी सैनिकको मृत्यु भएपछि युद्धको विषय स्थानीय मतदाताका लागि थप संवेदनशील बनेको थियो ।

किलिनले ट्रम्प प्रशासनको इरान युद्धप्रतिको नीतिको आलोचना गर्दै युद्धसम्बन्धी निर्णय गर्ने अधिकार अमेरिकी कङ्ग्रेसले पुनः आफ्नो नियन्त्रणमा लिनुपर्ने बताएकी थिइन् । उनले आफ्नो जितलाई वासिङ्टनमा व्याप्त भ्रष्टाचार र अराजकताविरुद्धको जनमतका रूपमा व्याख्या गरेकी छन् ।

यस क्षेत्रमा पछिल्लो समय जनसाङ्ख्यिक परिवर्तनसमेत भएको छ । कोलोराडो स्प्रिङ्स महानगरको जनसङ्ख्या चार दशकमा दोब्बरभन्दा बढी हुँदै करिब सात लाख ८२ हजार पुगेको छ । यससँगै जातीय विविधता, युवा तथा शिक्षित मतदाताको सङ्ख्या बढेको छ ।

स्थानीय तथ्याङ्कअनुसार एल पासो काउन्टीमा कुनै पनि प्रमुख राजनीतिक दलमा आबद्ध नभएका मतदाता कुल मतदाताको ५३ प्रतिशत पुगेका छन् । यसले परम्परागत रिपब्लिकन आधार कमजोर बनाउन भूमिका खेलेको विश्लेषण गरिएको छ ।

पूर्व अमेरिकी विशेष सैनिक अधिकारी तथा रिपब्लिकन पार्टीका पूर्व नेता कार्ल स्नाइडरले समेत किलिनलाई समर्थन गरेका थिए । उनले ट्रम्पलाई अमेरिका र विश्वका लागि गम्भीर खतरा भन्दै राष्ट्रपतिको सैन्य अधिकार नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

यस्तै, रिपब्लिकन मतदाता रिक उडले पनि क्र्याङ्कले पेट्रोलियम पदार्थ र खाद्यान्नको बढ्दो मूल्य नियन्त्रण गर्न नसकेको तथा ट्रम्पसँग अत्यधिक निकट सम्बन्ध राखेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij