काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले चौथो हार बेहोरेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले पोखरालाई ३० रनले पराजित गरेको हो ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रन बनाएर अलआउट भयो । चार खेलबाट ५ अङ्क जोडेको चितवन तेस्रो स्थानमा उक्लिँदा पोखरा अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।
पोखराको ब्याटिङमा अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । ४४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । युवराज सम्राले १९ तथा किरण ठगुन्नाले १३ र अर्जुन घर्तीले १२ रन जोडे ।
नयाँ कप्तान चमिका करुणारत्नेको नेतृत्वमा मैदान उत्रिएको पोखराले ओपनिङ जोडीसमेत परिवर्तन गरेको थियो । कुशल भुर्तेलसँगै युवराज सम्रा ओपनिङमा आएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij