२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश

जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश

मस्को । रुसले जापानी बहुराष्ट्रिय कम्पनी जापान टोबाको इन्टरनेसनल (जेटीआई) को रूसी सम्पत्ति आफ्नो नियन्त्रणमा लिने निर्णय गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार एक निर्देशन जारी गर्दै कम्पनीका सम्पत्ति अस्थायी प्रशासनमा राख्न आदेश दिएका हुन् ।

जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि जापान र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बनिरहेका बेला मस्कोले यस्तो कदम चालेको हो ।

पुटिनद्वारा जारी निर्देशनमा जेनेभास्थित मुख्यालय रहेको जेटीआईको रूसी सञ्चालनअन्तर्गतका औद्योगिक सम्पत्ति (इन्डस्ट्रियल एसेट्स) एक रुसी कम्पनीलाई हस्तान्तरण गर्ने उल्लेख छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धको जवाफमा रुसले विदेशी कम्पनीका सम्पत्ति तथा व्यवसाय आफ्नो नियन्त्रणमा लिने अभियान चलाउँदै आएको छ । यसअघि स्विस खाद्य कम्पनी नेस्ले र फ्रान्सेली सुपरमार्केट समूह अउसानले पनि रुसमा यस्तै परिस्थितिको सामना गर्नुपरेको थियो । उक्त अभियानबाट धेरै युरोपेली कम्पनीले आफ्ना रूसी व्यवसाय गुमाएका छन् ।

युक्रेनमाथि सन् २०२२ मा पूर्णस्तरको आक्रमण सुरु गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजार छाडेका थिए । तर, केही कम्पनीले भने त्यहाँ आफ्नो व्यवसाय सञ्चालन जारी राखेका छन् ।

रुसले आफूले ‘मित्रवत् नभएका’ ठानेका देशका कम्पनीमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । ती देशले युक्रेन युद्धका कारण मस्कोमाथि प्रतिबन्ध लगाएपछि रुसले लाभांश भुक्तानीमा रोक लगाउनुका साथै व्यवसाय बेचेर बाहिरिन चाहने विदेशी कम्पनीमाथि उच्च बहिर्गमन कर लगाएको छ । यसका कारण कतिपय कम्पनीले आफ्ना रूसी सम्पत्ति स्थानीय व्यवस्थापनलाई सुम्पेर बाहिरिनुपरेको छ ।

जापानले पनि युक्रेनमाथिको रुसी आक्रमणपछि मस्कोविरुद्ध लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धमा साथ दिएको छ । यसबाहेक प्रशान्त महासागरका केही द्वीपको स्वामित्वलाई लिएर जापान र रुसबीच दशकौँदेखि विवाद रहँदै आएको छ ।

यसैबीच, रुसी सुरक्षा सेवा (एफएसबी) ले गत महिना जापानी समाचारपत्र होक्काइदो शिम्बुनका पत्रकार युकी इमाईलाई जासुसी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । मस्कोले जापानले आफ्नो देशभित्र जासुसीका लागि व्यवस्थित रूपमा पत्रकार प्रयोग गर्ने गरेको आरोपसमेत लगाएको छ । तर, जापानले रुसी पक्षका आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij